२०७२ जेष्ठ २२,
क्यास कम्प्युटर विज्ञानको महत्वपूर्ण प्रक्रिया हो, जुन प्रत्येक कम्प्युटरमा विभिन्न रूपमा देखा पर्छ । कम्प्युटरमा मेमोरी क्यास, हार्डवेयर–सफ्टवेयर डिस्क क्यास, पेज क्यास आदि हुन्छन् । भर्चुअल मेमोरी पनि क्यासिङकै एउटा रूप हो । कम्प्युटरको मेमोरी सब–सिस्टममा आधारित प्रविधि नै क्यास हो । क्यासको मुख्य उद्देश्य कम्प्युटरलाई थोरै मूल्यमा पनि बढी शक्तिशाली बनाउनु हो । क्यास खोज्न (सर्च) लगाउने समयलाई अहिलेका आधुनिक हार्डवेयरले शून्यमा झारिसकेका छन् । क्यास प्रविधि सानो तर छिटो मेमोरी हो, जसलाई ठूलो तर ढिला मेमोरीलाई छरितोसँग सञ्चालन गर्न ऊर्जा प्रदान गर्ने किसिमले प्रयोग गरिन्छ । क्यास प्रयोग गर्दा सबैभन्दा पहिले खोजिएको कुरा क्यासमा छ कि भनेर जाँच्नुपर्छ । यदि खोजिएको कुरा क्यासमा छ भने त्यसलाई क्यास हिट भनिन्छ, छैन भने क्यास मिस भनिन्छ । क्यासमा नरहेको खण्डमा भने कम्प्युटरले एक फन्को लगाएर ठूलो र ढिला मेमोरी क्षेत्रमा सो कुरा खोज्न समय लगाउँछ ।
कम्प्युटरमा समयको सानो भागलाई पनि मापन गरिन्छ । जब माइक्रोप्रोसेसरले कम्प्युटरको मुख्य मेमोरी अर्थात् र्याममा प्रवेश गर्छ, यो काम ६० नानोसेकेन्डमा पूरा हुन्छ । यो निकै द्रुत गति हो । तर पनि परम्परागत माइक्रोप्रोसेसरभन्दा यो गति ढिलो नै छ । माइक्रोप्रोसेसरले चक्कर लगाउने समय दुई नानोसेकेन्ड जति मात्र हुन्छ ।
हामीले विशेष मेमोरी बैंक (सानो तर छिटो) बनायौं भने मुख्य मेमोरी ऱ्याममा प्रवेश दुई गुणा छिटो हुन जान्छ (३० नानोसेकेन्ड) । त्यसलाई लेभल–२ (एल टु) क्यास भनिन्छ । २३३ मेघाहर्जको पेन्टियमको एल वान क्यास एल टुभन्दा ३ दशमलव ५ गुणा छिटो हुन्छ र एल टुचाहिं मुख्य मेमोरीभन्दा दुई गुणा बढी छिटो हुन्छ ।
स्रोत : साप्ताहिक