२०७२ जेष्ठ २२ ,
निर्देशक : जोया अख्तर
संगीत : शंकर एहसान लोय
कलाकार : प्रियंका चोपडा, रणवीर सिंह, अनुष्का शर्मा, फरहान अख्तर, अनिल कपुर, शैफाली शाह, राहुल बोस आदि ।
लक बाइ चान्स र जिन्दगी ना मिलेगी दोबाराजस्ता चलचित्र निर्देशन गरेर प्रशंसा बटुलिसकेकी निर्देशक जोया अख्तरको तेस्रो चलचित्र ‘दिल धड्कने दो’ पनि अघिल्ला चलचित्रहरूझैं व्यक्तिगत सम्बन्धमा आधारित छ । चलचित्रको कथा एउटा पञ्जाबी परिवारमा केन्द्रित छ । उक्त परिवारका सदस्यहरूबीच राम्रो सम्बन्ध छैन जहाँ बालबालिका र अभिभावकहरू एक–अर्कालाई रुचाउँदैनन् । परिवारमा कसैले कसैलाई वास्ता गर्दैनन् । मनमुटावको बाँध फुटेर परिवारका सदस्यहरू अलग हुन लागेकै बेला एउटा प्रयोजनका लागि उनीहरू सबैले एकसाथ पानीजहाजको यात्रामा जानुपर्ने हुन्छ । यात्राका क्रममा लामो समयसम्म साथमा रहँदा उनीहरूले एकअर्काको समस्या बुझ्दै जान्छन् र परिवारका हरेक सदस्यको महत्व पनि बुझ्छन् अनि उनीहरूमा माया र ममता बढ्छ ।
कवि तथा गीतकार जावेद अख्तरकी छोरी जोया अख्तरले यसपटक पनि उक्त चलचित्रमा आफ्ना दाजु निर्देशक तथा अभिनेता फरहान अख्तरलाई नायकको भूमिकामा लिएकी छिन् । चलचित्रकी मुख्य पात्र भने नायिका प्रियंका चोपडा हुन् । हास्य तथा कारुणिक दृश्यहरू समेटिएको यो चलचित्र पूर्णत: पारिवारिक चलचित्र हो ।
स्रोत : साप्ताहिक