ताजा खबर

जिन्दगीमा प्लान

२०७२ जेष्ठ २२

काम गर्ने जाँगर र सीप होस् वा नहोस्, हामीसँग प्लान बनाउने सीप र जाँगर भने प्रशस्त छ । आजको नसोचे पनि हामी धेरै पछिको सोच्छौँ । वर्तमानमा महत्त्वपूर्ण रहेको कामलाई थाँती राखेर भविष्यप्रति अनावश्यक रूपमा चिन्तित हुन्छौँ ।

‘अबको दुई वर्षमा म फलानो देश जान्छु ।’ ‘अबको दस वर्षसम्ममा म सरकारी सेवामा छिरिसकेको हुन्छु ।’

‘अबको सात वर्षमा मैले डिग्री सकिसकेको हुन्छु । त्यसपछि म फलानो स्कलरसिपमा एप्लाई गर्छु र त्यहाँ नाउँ ननिस्किए पूरै पैसा तिरेर फलानो देश जान्छु ।’

बाफ रे ! कति लामो प्लानिङ !

मेरा एक जना भाइ थिए । अहिले पनि छन् । अस्ट्रेलियाको सिड्नीमा अर्धबेरोजगारी जीवन बिताइरहेका छन् । भाइ खुब प्लान बनाउँथे ।

एकपटक हाम्रो विराटनगर जाने सल्लाह भयो । एक महिनापछि जाने भनेर टुङ्गो लाग्यो । भाइ प्लानिङ गर्न थाले । हामी नाइट बसमा जान्छौँ । बस धार्केमा खाजा खान रोक्छ । हाइवेको खानेकुरा ठीक हुँदैन । त्यहाँ हामी केवल उसिनेको अण्डामात्र खान्छौँ । राति खाना खाने ठाउँमा बाहिरको ठेलामा चाउचाउ बनाउन लगाएर खान्छौँ । भोलिपल्ट विराटनगर पुगेर हामी बिहानै बैजुको पुडी जिलेबी खान्छौँ । बेलुकी बगेडी खान्छौँ । अर्को दिन जोगबनी जान्छौँ । फर्किएपछि हिमालय हलमा फिलिम हेर्छौं । त्यो बेला फलानो चलचित्र चलिरहेको हुनेछ, आदि–आदि ।

तर लास्टमा भयो के भने, त्यति नै बेला देशमा महाभूकम्प गयो । हाम्रा सप्पै योजना तुहिए । दिमाग विराटनगर जाने र त्यहाँको बसाइमा हुने संभावित रमाइलोहरूका लागि अभ्यस्त हुँदै थियो, तर पछि जान नपाउँदा नमज्जा लागिरह्यो । दिमाग एक किसिमको सुखभोग गर्ने सोचाइतर्फ उन्मुख भैसकेको थियो, तर त्यो नपाउँदा बेमज्जा लाग्नु स्वभाविक थियो ।

जुन मान्छेले बढी योजना बनाउँछ, उसैको योजना मुताबिक काम हुँदैन । म योजना बनाउने कार्यको विरुद्ध छैन । योजना बनाउनु सपना देख्नु जस्तै हो । सपना देखेर नै सपना पूरा गरिने हो, तर त्यसको अर्थ यो होइन कि योजना र सपनामा निर्लिप्त भएर आजलाई नै बिर्सिएर भोलिको कल्पनामा हराउँदा मान्छेको जीवनप्रतिको आशा बढी हुन्छ र त्यो नपाउँदा ऊ दु:खी हुन्छ । वर्तमानको मजालाई कुल्चिएर भविष्य बनाउँदा मान्छेले बाँच्नै बिर्सिन्छ ।

एसएलसी पास गरेको एउटा मान्छे खरिदारका लागि योग्य हुन्छ । भोलि खरिदार हुनुपर्छ, खरिदार भएपछि अलिक सुख पाइन्छ भनेर ऊ जीउ ज्यान दिएर लागिपर्छ । नाम निकाल्छ । खरिदार भएपछिको सुखभोग राम्रोसँग गर्ने नपाउँदै उसलाई सुब्बा हुने भोक जाग्छ । टुप्पी बाँधेर पढ्न थाल्छ । भोलि सुब्बा हुन्छ । अब शाखा अधिकृतको लोभले फेरि शरीर र मन दुवैलाई कष्ट दिएर पढ्न थाल्छ । एवं प्रकारले उपसचिव, सहसचिव र सचिवका लागि जीवनभर लडिरहन्छ । खालि भोलिको सुखका लागि भनेर प्लान बनाएर जीवन चलाउँछ । मर्ने बेलामा मात्र थाहा पाउँछ, ऊ जीवनमा खालि भविष्यको चिन्ता लिएर मात्र बाँचिरह्यो ।

म देख्छु, हाम्रै समाजमा यस्ताखाले थुप्रै मान्छे जो जीवनलाई सुन्दर र उच्च बनाउने लोभमा जीवनभर नै चेतनाहीन भएर कठोर परिश्रम गर्छन् । परिश्रम गर्नुपर्छ, अवश्य गर्नुपर्छ, तर वर्तमानको स्वाद लिएर । भविष्य बनाउने लोभ हुनुपर्छ तर घाइते वर्तमान बाँचेर होइन । वर्तमानको मजा लिएर भविष्यप्रति सजग हुँदै बाँचेको पो बाँचेको त ? नभए खाली दु:ख र यातना लिएर, तनावमा बाँचेर बनेको भविष्यको के अर्थ ?

योजना आफैँमा नराम्रो कुरा होइन । यद्यपि आज बाँचे मात्रै भोलि पनि बाँचिने हो । भोलि कसले नै देख्या छ र ? देख्दै नदेखेको भोलिका बारेमा चिन्तित हुनु भनेको चिन्दै नचिनेको मान्छेसँग माया बस्नु जस्तै हो ।

जीवनमा प्लानिङ गरौँ, पूरा नभए पनि दु:खी नहुने गरी । आजलाई नबिर्सी । आज रमाएर खुलेर बाँचेर प्लानिङ वा मेहनत गर्‍यौँ भने भोलि असफल हुँदा पनि उस्तो दु:खी हुनुपर्दैन र यसो हुँदा धेरै खुसीहरू सरप्राइज बनेर आउँछन् र त्यस्ता सरप्राइजहरू निकै मीठा हुन्छन् ।

स्रोत :साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *