२०७२ जेष्ठ २२ ,
क्विन फिल्ममा एउटी युवती मदमस्त हुँदै टेबलमाथि चढेर नाचिरहेकी हुन्छे । दुनियाँदारी र लोकलाज भन्ने चीजलाई भुलेर ‘हंगामा हो गया’ भन्दै नाच्ने त्यो युवती ‘रानी’ अर्थात् कंगना रनावतले त्यही फिल्मबाट अघिल्लो वर्ष राष्ट्रिय फिल्म अवार्ड हात पारिन् । फिल्मी जगत्मा वर्षौं वर्ष लागिपरेर पनि पाउन नसकिने राष्ट्रिय फिल्म अवार्ड २६ वर्षकै उमेरकै एउटी नायिकाले पाउनु अर्को खबरको विषय थियो, अनौठो खबर ।
बलिउड फिल्मी जगत्मा छिरेको आठ वर्षमै ‘ग्यांगस्टार’, ‘वो लम्हे’, ‘लाइफ इन अ मेट्रो’, ‘तनु वेड्स मनु’ ‘फेसन’, ‘क्रिस–३’ जस्ता फिल्म हिट भएपछि कंगनाको क्रेज बढ्दो थियो । दीपिका पादुकोण र प्रियंका चोपडा र कट्रिना कैफजस्ता हिरोइनले पाएको सफलतासँग कंगनाको सफलताको तुलना गर्न थालिएको थियो । अहिले फेरि ‘तनु वेड्स मनु रिर्टन’ मा उनै कंगनाको क्रेज फेरि दोब्बर बनेको छ– डबल रोल चरित्रमा ।
‘मलाई थाहा छ, दर्शकले अलिक रफटफ र काँचोजस्तो लाग्ने रोल मन पराउँछन्,’ दिल्लीमा आयोजित एउटा मिडिया संवादमा यो साता उनै कंगना बोलिरहेकी थिइन्, ‘यही कारण ‘क्विन’ की रानी पछाडि अहिले ‘तनु वेड्स मनु रिर्टन्स’ की दत्तोलाई धेरैले दशर्कले मन पराइरहेका छन्, किनभने ती दुवै रोल रफटफ छन्, रमाइला पनि ।’ फेरि कंगनाको छनोट पनि उस्तै छ, संयोग भए पनि उनले रोजेका फिल्मी निर्देशक आनन्द एल राई आफैंमा सफल र नमुना निर्देशक हुन् जसका अहिलेसम्मका तीनवटा फिल्ममा तीनवटै फिल्म हिट भए– तनु वेड्स मनु, रान्झणा र तनु वेड्स मनु रिर्टन्स ।
‘तनु वेड्स मनु’ को पहिलो संस्करण आएको चार वर्षपछि यसको सिक्वेल बनाउने क्रममा निर्देशक आनन्द एल राई ‘तनु’ को भूमिकाका लागि कोही उपयुक्त पात्र खोजिरहेका थिए । मनु रोलमा उनै पुराना नायक आर.माधवन छानिएका थिए तर, तनु खोजी भइरहेको थियो । ‘माधवनले नै तनुका लागि मेरो नाम सिफारिस गरेका हुन्, निर्देशकले फोन गरेर कथाको पृष्ठभूमि सुनाउनासाथ मलाई मन पर्यो,’ कंगानाले भनिन् । फिल्म प्रदर्शनीमा आएको दुई सातामै यसले भारतमा १ सय करोड कमाइसकेको छ ।
हिमाञ्चलको भित्री गाउँ भाम्वलामा जन्मे–हुर्केकी र चण्डीगढको डीएभी स्कुल पढेकी कंगनालाई उनका अभिभावक डक्टर बनेको हेर्न चाहन्थे । तर, छोरी भने १२ कक्षामा केमेस्ट्री विषयमा फेल भएपछि र लगत्तै अल–इन्डिया प्रि–मेडिकल परीक्षामा गयल भएपछि १६ वर्षकै उमेरमा राजधानी दिल्ली छिरेकी थिइन् । र्याम्प मोडलिङ र फेसन–सोका अड्डामा धाएपछि मात्रै कंगनाले अंग्रेजी बोल्ने अभ्यास बढाएकी थिइन् ।
‘हिन्दी फिल्म जगत्मा महिलाका निम्ति अक्सर परम्परागत भूमिका मात्रै दिइने गरिएको छ,’ कंगनाले भनिन्, ‘तर, हामी पनि परिवर्तनका संवाहक हुन सक्छौं, आज एउटी महिला पत्रकार, इन्जिनियर वा अन्य स्वच्छन्द भूमिकाका निम्ति पनि योग्य भइसकेका छन् ।’
कंगनाका लागि कुनै भूमिका निर्वाह गर्नु भनेको चरित्रअनुसारको हाउभाउ निकाल्नु, भाषा बदल्नु र अघिल्लो भूमिकाभन्दा फरक अभिनय देखाउन सक्नु हो । ‘हरेक चरित्रले हाम्रो जीवनको एउटा अंश बोकेर बसेको हुन्छ, जस्तो कि ‘फेसन’ फिल्ममा अभिनय गरेकी मैले ‘डर्टी पिक्चर’ मा तत्कालै भूमिका निर्वाह गर्न सक्ने थिइनँ,’ उनी भन्छिन् । झट्ट हेर्दा कंगनालाई फिल्मी दुनियाँमा रमेको–रमाएको झैं देखिए पनि उनको खुसीको क्षण भने अलग रहेछ, ‘जब म आफ्नो कमाइको रकम चेकमा पाउँछु, तब म त्यो फिल्ममा अभिनय गरेभन्दा बढी रमाइरहेकी हुन्छु ।’
रोजेको भूमिकालाई जतिसक्दो स्वतन्त्र स्टाइलमा काम गरेर देखाउने आमीर खान कंगनाका लागि प्रेरणा हुन् । फिल्म उद्योगमा सधैं छाइरहने वा काम पाइरहने कुरामा उनी उति आश्वस्त छैनन् । ‘म आफ्ना भविष्यका फिल्मबारे त्यति चिन्तित रहन्नँ,’ कंगनाले भनेकी छन्, ‘म भविष्यमा खेतीकिसानी सिक्न चाहन्छु । मुला फलाउन चाहन्छु । कुनै दिन सागसब्जी खाएर मात्रै मेरो दिनचर्या चलेको हेर्न चाहन्छु ।’
स्रोत :कान्तिपुर