काठमाडौ, जेष्ठ २२ ,
मानिसले खानमा दहीको उपयोग कम्तीमा ४ हजार पाँच सय वर्षदेखि गरिरहेका छन् । सानो बच्चादेखि बूढापाकालाई समेत दही सजिलै पच्छ । दही खानाले रोग प्रतिरोधक क्षमतासमेत बढ्छ । दही जुन ब्याक्टेरियाले बन्छ त्यो शरीरमा भइरहेको कुनै पनि संक्रमणबाट सुरक्षित राख्छ । यो सीधै शरीरमा सेतो रक्त कणिकामा काम गर्छ र शरीरलाई रोग प्रतिरोधक क्षमता कम भएर हुने रोगबाट बचाउँछ । जसलाई दूधबाट एलर्जी हुन्छ, उनीहरू दही सेवन गरेर यसबाट पोषकतत्त्व हासिल गर्न सक्छन् । दहीको नियमित सेवन गर्ने व्यक्तिमा गामा इंटरफरान नुन प्रोटिनको मात्रा बढी पाइन्छ जसले यसको रोगप्रतिरोधक क्षमतालाई बढी सुदृढ बनाउँछ । थुप्रै अनुसन्धानहरू अनुसार दहीको नियमित सेवनले थुप्रै क्यान्सर मुख्यत: ठूलो आन्द्रा र कोलोनको क्यान्सरबाट सुरक्षा दिन्छ ।
दहीको सबैभन्दा ठूलो विशेषता यसमा लैक्टिक अम्ल बढी मात्रामा हुनु हो । यसले गर्दा ठूलो आन्द्रामा यस्तो वातावरण बन्छ जो दुर्गन्ध उत्पन्न गर्ने जीवाणु अर्थात् फुटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ । यो जीवाणुलाई बी कोली को नाउले समेत जानिन्छ । अर्थात् ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ । दूधमा लैक्टोज पाइन्छ तर दहीमा ल्याक्टेज हुन्छ जो सजिलै पच्नुको साथै पेटलाई समेत आराम दिन्छ । दहीमा मिनरल्स र क्याल्सियम धेरै बढी मात्रामा हुन्छ । आस्टियोपोरोसिसले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ । दहीमा कार्बोहाइड्रेट, प्रोटिन र क्याल्सियम बढी मात्रामा पाइन्छ यसैले हाई कोलेस्ट्रोलको रोगीको लागि पनि यो फायदाकारी छ । यसमा भिटामिन बी ६ र भिटामिन बी १२ समेत पाइन्छ ।
प्रोबायोटिक आहार अर्थात् दहीलाई एलर्जी रोकथामको लागि समेत उपयोग गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएको छ । वैज्ञानिक रोजर काजको अनुसार जुन व्यक्तिको परिवारमा एलर्जीको समस्या छ, उनीहरू यो प्रोबायोटिक अर्थात् दहीलाई रोकथामको रूपमा उपयोग गर्न सक्छन् । प्रोबायोटिक आहार अति लाभप्रद अति सूक्ष्म जीवाणु वा खमिरले युक्त हुन्छन् ।
दहीले स्वस्थ जीवन मात्र दिँदैन यो सौन्दर्य बढाउनसमेत सहयोगी हुन्छ । दही कपालमा लगाउँदा यसले चायाबाट समेत मुक्ति दिलाउँछ । यस्तै अनुहारमा लगाउँदा छाला टल्किन्छ । घामले डढेको छालामा दही लगाउनु फाइदा पुर्याउँछ ।
आहारमा नियमित रूपले दहीको सेवन गर्नाले बच्चामा दन्तक्षयको सम्भावना २२ प्रतिशत कम हुने समेत एउटा अध्ययनले देखाएको छ । सातामा चारपटक दही खाने बच्चामा दन्तक्षयको सम्भावना २२ प्रतिशत कमी देखिएको हो । उक्त अध्ययन फुकुओका र टोक्यो विश्वविद्यालयका विशेषज्ञहरूले गरेका थिए । उनीहरूले दही दाँतमा सुरक्षात्मक प्रोटिनजस्तै काम गर्ने र हानिकारक एसिडबाट दाँतको रक्षा गर्ने पाए । यो अनुसन्धानलाई अस्ट्रलियाई वैज्ञानिकहरूले समेत सहयोग गरेका थिए ।
एक कप दहीमा करिब तीन सय ७० मिलिग्राम क्याल्सियम हुन्छ जो एक व्यक्तिका लागि दैनिक आवश्यक क्याल्सियम मात्राको ३० देखि ४० प्रतिशतको हाराहारीमा हो । यसमा प्रोटिनसमेत प्रशस्त हुन्छ । एक कपले एकजनालाई दैनिक आवश्यक पर्ने २५ देखि ३० प्रतिशत प्रोटिनको आवश्यकतासमेत पूर्ति गर्छ । एक कपमा दुई सय ५० मिलिग्राम पोटासियमसमेत हुन्छ जो एउटा केरामा पाइने पोटासियमको बराबर हो । यसमा कम क्यालोरी हुन्छ जसले यो पोषक आहारको क्षेत्रमा डाइट फुडको रूपमा समेत प्रसिद्घ छ ।
स्रोत : कान्तिपुर