चिनियाँ जहाजमा समस्या, वायुसेवा निगमले फेरि मन्त्रालय गुहार्‍यो

शुक्रबार २२ जेष्ठ, २०७२,

काठमाडौं-नेपाल वायुसेवा निगमले आफूसँग रहेका चिनियाँ जहाजसम्बन्धी समस्या समाधानका लागि फेरि सरकार गुहारेेको छ। यसअघि गरिएको आग्रहमा हालसम्म ‘सनुवाई’ नभएपछि निगम व्यवस्थापन पुनः हारगुहारमा लागेको हो।
चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए यहाँ उडान गरिरहेकालाई फिर्ता पठाउने र ल्याउन बाँकी जहाज नल्याउने निर्णय निगमले यसअघि नै गरेको थियो। गत वैशाख पहिलो साता गरिएको उक्त निर्णयपछि पनि हालसम्म समस्या समाधानका लागि प्रक्रिया अगाडि नबढेको निगमको भनाइ छ।
‘झन्डै दुई महिनाअघि गरिएको आग्रहबारे हालसम्म पनि केही जानकारी नपाएपछि चिनियाँ जहाजका समस्या छिटोभन्दा छिटो समाधानका लागि पहल गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बिहीबार नागरिकसँग भने, ‘अब भने चाँडै समस्या समाधानको पहल हुने विश्वास छ।’
निगमले तालुक मन्त्रालय पर्यटनमा पठाएको पत्रमा ‘मोडर्न आर्क’ (एमए–६०) सञ्चालनमा आएको सात महिनामा ८० दिन ग्राउन्डेड, स्पेयर पार्ट्स (जगेडा पुर्जा) असाध्यै महँगो, ल्याउन परे सामान आइपुग्न धेरै दिन लगाइदिने, पाइलट, इन्जिनियर, क्याबिन त्रु्कलगायतको तालिम खर्च निगमसँगै रहेका बोइङ ७५७ (ठूला जहाज) को दाँजोमा एमए–६० मा तीनदेखि चार गुणा महँगो र बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी रहेको उल्ल्ेख छ।
त्यसैगरी चीनले जहाज पठाउनुअघि दिएको विवरण (स्पेसिफिकेसन) जहाज ल्याइसकेपछि नमिलेको पनि पत्रमा उल्लेख छ। जहाज आउनुअघि जति भारवहन क्षमता भनिएको थियो, त्यो नमिलेको पत्ता लागेको थियो।
पत्रका अनुसार काठमाडौंबाट ५६ सिट क्षमताको एमए–६० उड्दा ५४ यात्रुमात्र राख्न मिल्छ। तापक्रम र धावनमार्ग लम्बाइका आधारमा काठमाडौं फर्किंदा यो जहाजले न्यूनतम ३६ (भद्रपुरबाट फर्कंदा) र बढीमा ४८ जना यात्रुमात्र (धनगढीबाट फर्कंदा) ल्याउन सक्छ।
लामो विवादपछि निगम सञ्चालक समितिले गत वैशाख पहिलो साता एमए–६० जहाजको बिमा नवीकरण थप तीन महिनासम्म गर्ने निर्णय गरेको थियो। आगामी साउन १२ सम्म यो जहाज उडाउन मिल्छ र बिमा नवीकरण नभए उडाउन मिल्दैन। पर्यटन मन्त्रालयबाट बिमा नवीकरण गर्ने/नगर्ने भन्ने स्पष्ट निर्देशन प्राप्त नहुनु तथा चिनियाँ जहाजको ‘पर्फर्मेन्स’ असाध्यै कम भएको दोधारबीच निगमको सञ्चालक समितिले नवीकरको निर्णय गरेको थियो।
अनुदानमा प्राप्त गरेका दुईमध्ये एमए–६० को बिमा शुल्क अत्यधिक महँगो हुनुका साथै अन्य प्राविधिक समस्या उच्च भएका कारण यसलाई उडाउने हो वा होइन भन्ने निर्णय गर्न निगमले पर्यटन मन्त्रालयको सहयोग मागेको थियो। मन्त्रालयले प्राविधिक समस्या हल गर्न सहयोग गर्ने आश्वासन यसअघि नै दिएको थियो। बिमा नवीकरणबारे भने आफैं निर्णय गर्नुपर्ने मन्त्रालयको भनाइ आएपछि निगम सञ्चालक समितिले तीन महिनाका लागि मात्र नवीकरण गरेको थियो।
‘घाटा खाएर चिनियाँ जहाज उडाउनुको कुनै अर्थ छैन, त्यही भएर पर्यटन मन्त्रालयले यसमा गम्भीर भएर समस्या समाधानको पहल गरिदिनुपर्छ,’ निगमका एक उच्च अधिकारीले भने, ‘अब पनि समस्या सममाधान भएन भने भएका जहाज पनि फिर्ता गर्ने र बाँकी चारवटा पनि नल्याउन सक्छौं।’
निगम सञ्चालक समितिले पहिलो पटक २०७१ माघ दोस्रो साता बिमा शुल्क उच्च हुनुका साथै चिनियाँ जहाजको उडान क्षमता कम भएको भन्दै पर्यटन मन्त्रालयलाई पत्राचार गरी समस्या समाधानका लागि चीनसँग वार्ता गरिदिन आग्रह गरेको थियो। निगमले गत चैत ११ को समयसीमा तोक्दै चिनियाँ जहाजका समस्या समाधान नभए चीनबाट ल्याउन बाँकी चार जहाज नल्याउने र यहाँ सञ्चालनमा रहेका दुई जहाज फिर्ता पठाउने निर्णय त्यसबेला पनि गरेको थियो।
त्यसको करिब दुई महिनापछि मन्त्रालयले चिनियाँ पक्षसँग वार्ता गरे पनि ठोस काम भने हुन सकेको थिएन। जहाजको बिमा रकम उच्च भएको भन्ने निगमको भनाइलाई चिनियाँ पक्षले ‘यसमा आफ्नो चासो नभएको’ र मन्त्रालयले पनि बिमाको समस्या निगम आफैंले समाधान गर्नुपर्ने धारणा राखेपछि निगम थप अन्योलमा थियो।
निगम अनुसार एमए–६० को बिमा शुल्क जहाजको कुल मूल्यको ४ दशमलव ७ प्रतिशत रहेको छ। यो हिसाबले दैनिक २ लाख ४८ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्छ। एक वर्षमा एमए–६० को बिमा शुल्कमात्र ९ करोड ५ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ। अब तीन महिनाको बिमा शुल्क २ करोड २६ लाख ३० हजार रुपैयाँ तिर्नुपर्छ। यो रकम राष्ट्रिय बिमा संस्थानमार्फत बेलायतस्थित बिमा कम्पनीलाई पठाइसकिएको छ।
निगमले यो जहाजको बिमा रकम उच्च भएका कारण सञ्चालन गर्न अप्ठेरो भएको बताउँदै आएको छ। यसको बिमा शुल्क पनि एयरबस वा बोइङका ठूला जहाजका तुलनामा तीन गुणा बढी छ। त्यसमाथि अमेरिका र युरोपले यो जहाजलाई हालसम्म मान्यता दिएका छैनन्।
निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको ‘ए३२०–२००’ सिरिजका जहाज र अमेरिकी कम्पनी बोइङले उत्पादन गरी निगमले करिब तीन दशकदेखि सञ्चालन गरिरहेका ‘बि७५७’ सिरिजका जहाजको वार्षिक बिमा शुल्क जहाजको कुल मूल्यको डेढ प्रतिशतमात्र तिर्नुपर्ने भए पनि एमए–६० को बिमा शुल्क तीन गुणा बढी छ।
निगमले २०७१ वैशाख १४ मा एमए–६० काठमाडौं ल्याएको थियो। यसले असार ११ बाट नियमित उडान सुरु गरेको थियो। त्यसपछि माघसम्ममा प्राविधिक समस्याका कारण करिब एक दर्जन पटक यो जहाज ‘ग्राउन्डेड’ भएको थियो, जसबाट ८० दिन सेवा अवरुद्ध भएको थियो। ‘ब्रान्ड न्यु’ जहाजबाट बजार हिस्सा बढ्ने र प्रशस्त नाफा गर्ने निगमको योजना अहिले पूरै असफल भएको छ।

स्रोत : नागरिक

Related posts