ताजा खबर

भूकम्पले रोकेको छैन पोखरा विमानस्थल निर्माण

शुक्रबार २२ जेष्ठ, २०७२,

पोखरा-महाभूकम्पपछि जताततै भत्के बिग्रेको मात्रै देख्नुभएको होला। भूकम्पले जति विनाश गरे पनि देशले विकास र निर्माणको प्रक्रियालाई भने रोकेको छैन। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढिरहनु त्यसैको उदाहरण हो।
भूकम्प गइसकेपछि नै विमानस्थल आयोजनाले जग्गा अधिग्रहणका लागि मुआब्जा वितरणलाई तीब्रताका साथ अघि बढाइरहेको छ। मुआब्जा वितरणकै लागि भनेर सोमबारमात्रै अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए। ‘मुआब्जा लिन धमाधम निवेदन आइरहेको छ,’ उनले भने, ‘पैसा निकासा भइसकेकाले एक/दुई दिनमै वितरण सुरु हुन्छ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप अधिग्रहण गर्न लागिएको जग्गाका धनीले मुआब्जा लिन सुरु गरेका छन्। उचित मूल्य नपाएको भन्दै असन्तुष्टि पोखिबसेकाहरुले यो साता रकम रकम बुझ्न थालेका हुन्।

सरकारले विमानस्थलका लागि थप ६ सय ८० रोपनी जग्गा अधिग्रहण गर्न लागेको हो। त्यसमध्ये ३ सय ३५ रोपनीका जग्गाधनीलाई दोस्रो चरणमा मुआब्जा वितरण गर्न प्रक्रिया अघि बढेको छ। यसअघि पहिलो चरणमा ८० रोपनीका लागि मुआब्जा लिन आउन सरकारले सूचना जारी गरेको थियो। त्यो चरणका १३ जना जग्गाधनी विदेश वा अन्त कतै भएर सम्पर्कविहीन भएर नआएका भए पनि अरु सबैले मुआब्जा बुझेका छन्।

दोस्रो चरणको ३ सय ३५ रोपनी अधिग्रहणमा परेका जग्गाका धनीहरुले पनि मुआब्जा लिन निवेदन दिइरहेको आयोजनाका सिभिल इन्जिनियर चन्द्रमणि सापकोटाले बताए। दोस्रो चरणमा लिन लागिएको यो जग्गामा विमानस्थलको टर्मिनल भवन निर्माण हुने जानकारी पनि उनले दिए।

३ सय ३५ रोपनी जग्गा प्राधिकरणले ४८ देखि ६४ लाख रुपैयाँ रोपनीका दरले मुआब्जा दिएर लिन लागेको हो। बाटो नभएकोलाई थोरै र भएकोलाई धेरै मूल्य दिइनेछ। यसअघि ८० रोपनीका हकमा भने बाटो नभएको र नगरपालिकाको मापदण्डअनुसार भौतिक संरचना निर्माण गर्न नमिल्ने जग्गाको २० र सडक भएकाको ४२ लाख रुपैयाँ रोपनी दरको मुआब्जा थियो। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत संयोजकत्व टिमले मुआब्जा निर्धारण गरेको हो।

‘यो खुसीको कुरो हो,’ आयोजना प्रमुख अधिकारीले भने, ‘जग्गाप्राप्तिका लागि अन्त धेरै कठिन भए पनि पोखरामा समस्या भएन । स्थानीय, दल र सरोकारवालाले निकै सहयोग गरे।’ भूकम्प आएकै कारण मुआब्जा लिन आउने सूचना निकाल्न एक महिनाजस्तो ढिला भए पनि अरु कुनै असर नपरेको जानकारी अधिकारीले दिए। ‘हामी पनि धमाधम काम गरिरहकेका छौं,’ उनले भने, ‘अर्थ मन्त्रालयले पनि रकम निकासा दिइहाल्यो।’

भूकम्पले पनि पोखरामा छिटो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल खाँचो देखाएको इन्जिनियर अधिकारी बताउँछन् । ‘त्रिभुवन विमानस्थलमै भूकम्पले केही गरेको भए देशलाई कति गाह्रो हुन्थ्यो होला,’ उनले भने, ‘त्यसैले पनि अर्को विमानस्थल तुरुन्तै बनाउन लागि पर्नुपर्ने देखियो।’

२१ अर्ब रुपैयाँमा निर्माण गरिने विमानस्थलका लागि चीनले ऋण दिने पक्का भइसकेको छ। तर दुई देशबीच ऋण सम्झौता भइसकेको छैन। भूकम्पकै कारण ऋण सम्झौता केही पर सरे पनि एकाध महिनामा त्यो भइसक्ने नागरिक उड्डयन प्राधिकारणका अधिकारीहरु बताउँछन्। प्राधिकरण स्रोतका अनुसार चीनले आफ्नो एक्जिम बैंकमार्फत शुन्य दशमलव ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङलाई दिएको छ। प्राधिकरण र उक्त कम्पनीबीच २२ मे २०१४ मा सहमति भएको थियो। ‘अब ऋण सम्झौता भएकै दिनदेखि त्यो सहमति कार्यान्वयनमा आउँछ,’ इन्जिनियर सापकोटाले भने।

डिजाइनबाहेक गरी ३ वर्षमा विमानस्थल निर्माणको सहमति प्राधिकरणले चिनियाँ कम्पनीसँग गरेको छ। इपिसी मोडलमा निर्माण हुने विमानस्थल पूरा भएपछि प्राधिकरणलाई हस्तान्तरण हुन्छ। यसमा निर्माण कम्पनीले कुनै पनि बाहनामा मूल्यवृद्धि गर्न पाउँदैन।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले २०३१ सालमा पोखरा—१४, १५ र १८ को ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो। विमानस्थलको धावनमार्ग लगायत संरचना बन्ने ठाउँको माटो परीक्षण चिनियाँ पक्षले गरिसकेको छ।

स्रोत : नागरिक

Related posts