शुक्रबार २२ जेष्ठ, २०७२,
काठमाडौं- भूकम्पपछिको प्राविधिक अध्ययनमा देशभरिका पक्की पुलमा ठूलो क्षति नदेखिए पनि पटक–पटकका पराकम्पनले सिन्धुपाल्चोकको तातोपानी जोड्ने भोटेकोसीको लार्चा पुल तथा सिन्धुपाल्चोक र रसुवा जिल्लाबाट तिब्बत जोड्ने दुइवटा मितेरी पुलमा समस्या देखिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ती पुलका सम्बन्धमा विस्तृत अध्ययन गर्न केन्द्रीयस्तरबाटै उच्चस्तरीय प्रतिनिधिमण्डल खटाउने भएको छ। तातोपानीमुनिको लार्चा पुलबाट भारवाहक सवारी साधन ओहोरदोहोर गर्न नसकेपछि तिब्बतबाट ल्याइएका सामग्री पुलमाथि नै ट्याङ्करमा थन्किएको मन्त्रालयले जनाएको छ।कोदारीबाट तिब्बत जोड्ने मितेरी पुलमा सवारी साधन चले पनि पुल चिरा परेर धराप अवस्थामा पुगेकाले विस्तृत अध्ययनका लागि मन्त्रालयको सक्रियतामा सडक विभागबाट उच्चस्तरीय प्रतिनिधिमण्डल खटाउन लागिएको मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए।
‘भूकम्पपछि मन्त्रालयलाई केन्द्रीय सडक सञ्जाल खोलेर दुरुस्त राख्न र भूकम्पप्रभावित जिल्लाका स्थानीय निकायको जिम्मेवारीमा रहेका सडकमा आएका पहिरो पन्छाएर राहत सामग्री पुर्यााउन मद्दत गर्न भनिएअनुरुप काम गरिरहेका छौं,’ उनले भने।
कोदारीको मितेरी पुल जस्तै रसुवागढीको मितेरी पुल पनि चिरिएकाले त्यहाँसमेत प्राविधिक जाँचका लागि प्रतिनिधि पठाउन लागिएको सडक विभागले जनाएको छ। ‘यी तीनवटै पुलका सम्बन्धमा चिनियाँ प्राविधिक समूहले समेत अध्ययन गरी पुलको अवस्था पत्ता लगाउन लागेको छ, यसमा हाम्रा प्रतिनिधिले पनि छुट्टै जाँच गर्नेछन्,’ विभागका महानिर्देशक माधवकुमार कार्कीले भने।
स्रोत : नागरिक