ताजा खबर

जाभीलाई अर्काे उपाधिको अवसर

म्याड्रिड, २२ जेठ,

बार्सिलोनाका कप्तान जाभी क्याम्प नोउमा १७ वर्षको बसाइ टुंग्याउँदै यसै सिजन कतारी क्लब अल साद जाँदै छन् । बार्सिलोनामा झन्डै दुई दशक बिताएका जाभीले यस अवधिमा २४ उपाधि जिते । जसमा स्पेनिस ला लिगाको उपाधि आठपटक जिते । क्याम्प नोउ छाड्नुअघि जाभीसँग अझै एक उपाधि थप्ने अवसर छ । यो सिजन स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितिसकेको बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको समेत उपाधिनजिक छ । बार्सिलोनाले उपाधिका लागि शनिबार इटालियन च्याम्पियन युभेन्टससँग प्रतिस्पर्धा गर्दै छ । सोही खेल जाभीका लागि बार्सिलोनाबाट अन्तिम पनि हुनेछ । बार्सिलोनाले बिहीबार क्याम्प नोउमा उनले हालसम्म जितेका २४ उपाधिसहित जाभीको तस्बिर सार्वजनिक गरेको छ । क्लबको इन्टाग्राम एकाउन्टमा राखिएको तस्बिरमा जाभी ट्रफीका बीचमा उभिएका छन् । क्लबले उनको सम्मानस्वरूप सो तस्बिर खिचिएको जनाएको छ । जाभीले बार्सिलोनाबाट आठ लिग उपाधिसहित तीन च्याम्पियन्स लिग, दुई युइएफए सुपर कप, तीन कोपा डेल रे, ६ स्पेनिस सुपर कस र दुई फिफा विश्व क्लब फुटबलको उपाधि जितेका छन् । शनिबार युभेन्टसलाई पनि पराजित गर्न सके जाभीले बार्सिलोनाबाट च्याम्पियन्स लिगको छैटौँ उपाधि जित्नेछन् । त्यससँगै उनले क्लबबाट आफ्नो उपाधि संख्यासमेत २५ पुर्‍याउनेछन् । जाभीले युभेन्टसविरुद्ध बार्सिलोनाबाट अन्तिम खेल खेल्ने तय भए पनि क्लबले भने उनको यसअघि नै बिदाइ गरिसकेको छ । बुधबार क्लबले गरेको बिदाइ कार्यक्रममा जाभी भावुक देखिएका थिए । क्लबका तर्फबाट सहकर्मी एन्द्रेस इनिस्टाले उनलाई सम्मान गरेका थिए । ‘कप्तान, सहकर्मी र साथी, तिमीविना अर्काे सिजनको तयारी कसरी हुन्छ ? हामी कल्पना गर्न सक्दैनौँ,’ इनिस्टाले भने, ‘तिमीसँगै खेल्न पाउनु मेरा लागि सौभाग्य थियो ।’ उनले क्लबका लागि दिएको योगदानप्रति जाभीलाई धन्यवादसमेत दिए । ‘जाभी सधैँ टोलीमा एक उदाहरणका रूपमा प्रस्तुत भए, सधैँ आफूभन्दा पनि टोलीका लागि खेल्न तयार भए,’ इनिस्टाले भने, ‘ती सबै योगदानका लागि धन्यवाद दिन चाहन्छु ।’

स्रोत : नयापत्रिका

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *