ताजा खबर

दक्षिण कोरियामा मर्स भाइरस संक्रमण

२०७२ सोल, २२ जेठ शुक्रबार ,

मर्स भाइरसको संक्रमणका कारण तीनजनाको मृत्यु भएपछि दक्षिण कोरियाका सात सय विद्यालय बन्द गरिएका छन् । मर्सका कारण दक्षिण कोरियामा ३५ भन्दा धेरैको अवस्था गम्भीर भएको अधिकारीले जनाएका छन् । एक हजार ६ सयभन्दा धेरैमा संक्रमण देखिएको छ । अधिकारीले संक्रमण रोक्न प्रयास गरिरहेको र एक हजार ६ सयलाई परीक्षणमा राखिएको बताएका छन् । तर, मर्स संक्रमण भएका एक व्यक्ति गल्फ खेल्न पुगेपछि र एक व्यक्ति चीन पुगेपछि उनीहरूको आलोचना बढेको छ । बिहीबार मर्स संक्रमित थप मानिस फेला परेपछि दक्षिण कोरियाली जनता आतंकित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मर्स संक्रमणकै कारण सयौँले दक्षिण कोरियाको यात्रा रद्द गरेका छन् । बिहीबार मात्र चीन र ताइवानबाट दक्षिण कोरिया जानुपर्ने सात हजार पर्यटकले आफ्नो भ्रमण रद्द गरे । २० मेमा ६८ वर्षका एक व्यक्ति साउदी अरबको भ्रमणबाट फर्केपछि यो समस्या देखिएको अधिकारीले अनुमान गरेका छन् । मर्सका कारण अहिलेसम्म विश्वभर चार सय ३६ जनाको मृत्यु भइसकेको छ । सन् २०१२ मा पहिलोपटक यो भाइरस साउदी अरबमा देखिएको थियो । यसको संक्रमण रोक्न र उपचारका लागि हालसम्म कुनै विधि पत्ता लागेको छैन ।

स्रोत :नयापत्रिका

Related posts