२०७२ जेष्ठ २२ शुक्रबार ,
यसकारण पोरोसेन्कोका चेतावनी
- फेब्रुअरीमा भएको युद्धविराम सम्झौता बुधबार दोनेत्स्कमा विद्रोही र सेनाबीच भएको आक्रमणलगत्तै भंग भएको छ, युक्रेनी सेनाले सम्झौता भंग गरेको आरोप विद्रोहीले लगाएका छन् भने सरकारले पनि विद्रोहीलाई यही आरोप लगाएको छ
- नौ हजारभन्दा धेरै रुसी सेना युक्रेन सीमातर्फ मार्च गरिरहेको पोरोसेन्कोले दाबी गरेका छन्, रुसले यसको खण्डन गरेको छ, तर पूर्वी युक्रेनमा पर्याप्त मात्रामा रुसी सेना देखिएको युक्रेन सरकारले दाबी गरेको छ
- पूर्वी युक्रेनमा फेरि विद्रोहीले चर्को स्वरमा जनमतसंग्रहको माग गर्न थालेका छन्, बुधबार सुरु भएको झडप थप चर्काउने उनीहरूले पनि चेतावनी दिएका छन्युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले रुसमाथि आक्रमण गर्ने चेतावनी दिएका छन् । बिहीबार संसद्मा बोल्दै पोरोसेन्कोले रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेको दाबी गर्दै सम्पूर्ण सुरक्षा निकायलाई प्रतिकार तथा युद्धका लागि तयार हुन निर्देशन पनि दिएका छन् ।
पोरोसेन्कोले नौ हजारभन्दा धेरै रुसी सेना युक्रेनको सीमातर्फ आइरहेको र जुनसुकै वेला ठूलो युद्ध गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ‘हामीले रुसी अधिग्रहण सहन हुँदैन,’ उनले भने, ‘जस्तोसुकै ठूलो युद्धका लागि पनि तयारी गरिराखौँ । हामी उनीहरूलाई परास्त गर्न सक्छौँ ।’ तर, रुसले युक्रेनी सीमामा सेना नपठाएको बताएको छ ।
उता, दोनेत्स्कमा बुधबार सुरु भएको युक्रेनी सेना र विद्रोहीबीचको झडपमा दर्जनौँको मृत्यु भएको छ । युक्रेनले पाँच सेनाको मृत्यु भएको जनाएको छ भने विद्रोहीले कम्तीमा पनि १५ सर्वसाधारणको मृत्यु भएको दाबी गरेको छ ।
गत फ्रेबुअरीमा मिन्स्कमा भएको शान्तिसम्झौता बुधबार दोनेत्स्कमा भीडन्त भएपछि भंग भएको छ । साथै, युक्रेनले आफ्ना सेनालाई दोनेत्स्क र पूर्वी युक्रेनमा तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको छ ।
संसद्मा बिहीबार पोरोसेन्कोले पूर्वी युक्रेनमा मात्र ५० हजारभन्दा धेरै सेना परिचालन भएको र रुसी आक्रमणलाई परास्त गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । उनले पूर्वी युक्रेनका अधिकांश स्थान सरकारको नियन्त्रणमा आइसकेको बताएका छन् । ‘अब दोनेत्स्क र लुहान्स्कमा मात्र हामीलाई समस्या परेको छ,’ पोरोसेन्कोले भने, ‘त्यहाँ रुसले आफ्ना सेना पठाइरहेको छ । अब प्रतिकार गर्नुपर्छ ।’
योसँगै मिन्स्कमा भएको युद्धविराम पूर्ण रूपमा भंग भएको अनुमान छ । तर, रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही दिनअघि युक्रेनबाट आफ्ना सम्पूर्ण सेना फर्किसकेको बताएका थिए । उनले त्यो क्षेत्रका स्थानीयले नै युक्रेनी सरकारविरुद्ध आन्दोलन गरेको दाबी गर्दै युक्रेनमा हस्तक्षेप गर्ने आफ्नो कुनै नीति नरहेको बताएका थिए । ‘तर, युक्रेनी जनताको स्वतन्त्रताको मागलाई हामी सम्मान गर्छौं,’ उनले भनेका थिए, ‘उनीहरूको स्वतन्त्रताका लागि हामी सहयोग गर्न पनि तयार छौँ ।’
स्रोत : नयापत्रिका