ताजा खबर

भारत र चीनका प्रधानमन्त्रीलाई डाकिने

२०७२ जेष्ठ २२ शुक्रबार,

काठमाडौं  सरकारले दुई सातापछि हुने दाता सम्मेलनमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनलगायत विश्वका नेताहरूलाई बोलाउने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ समकक्षी ली, भारतीय समकक्षी मोदी, राष्ट्रसंघका महासचिव बान, विश्वबैंकका अध्यक्ष डा. जिम योङ किम, युरोपेली कमिसनका अध्यक्ष जँ क्लाउडे जंकर र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नाकाओलाई सम्मेलनमा सहभागी भइदिन निमन्त्रणा पठाउन लागेका हुन्।
‘निमन्त्रणापत्र तयार भइसकेका छन्। प्रधानमन्त्रीले हस्ताक्षर गरेपछि सम्भवत: शुक्रबार पठाइनेछ’, परराष्ट्र स्रोतले भन्यो।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले छिमेकी चीन र भारतका प्रधानमन्त्रीलाई छिट्टै निमन्त्रणापत्र पठाइने जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूले चिनियाँ र भारतीय समकक्षीलाई सम्मेलनमा सहभागी हुन चाँडै निमन्त्रणा गर्नुहुनेछ’, उनले भने।
विनासकारी भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनामा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव जुटाउने उद्देश्यले गर्न लागिएको उक्त सम्मेलन सफल पार्न सरकारले यसअघि नै अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिसकेको छ। सरकारले यसअघि दुई खर्ब रुपैयाँको राष्ट्रिय पुनर्निर्माण कोष खडा गर्ने निर्णय गरेको छ।
ध्वस्त भएका संरचनाको पुनर्निर्माण तथा घरबारविहीन भएका भूकम्पपीडितहरूको पुनस्र्थापनाका लागि स्थापित उक्त कोषमा सहयोग पुर्‍याइदिन सरकारले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिसकेको छ। त्यसमा सरकारले ‘सिड मनी’का रूपमा २० अर्ब रुपैयाँ जम्मा गरिसकेको छ।
सम्मेलन आउन दुई साता मात्रै बाँकी रहँदा निमन्त्रणा गर्न लागिएका कारण उच्च स्तरको सहभागिता हुने सम्भावना भने निकै कम रहेको परराष्ट्रका अधिकारीले बताए। ‘भूकम्पको विपत्तिपछि मन्त्रीस्तरीय सम्मेलन गर्न लागिएको छ।
विदेशी मुलुकका सरकार प्रमुखलगायतलाई निमन्त्रणा गर्ने काम हाम्रो हो तर आउनेनआउने उनीहरूकै निर्णयमा निर्भर गर्छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने।
मुख्य आयोजक अर्थ मन्त्रालयले सम्मेलनका लागि आवश्यक तयारी तीव्र गतिमा गरिरहेको छ। सम्मेलनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल, अर्थसचिव सुमनप्रसाद शर्मा, परराष्ट्रका निमित्त सचिव शंकरदास बैरागीसमेत रहेको उच्चस्तरीय समिति पनि गठन गरिएको छ।
अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनीका अनुसार नेपालका विभिन्न ४१ दातृ मुलुकबाट मन्त्रीस्तरीय प्रतिनिधित्व हुने गरी निमन्त्रणा पठाइएको छ।
अर्थमन्त्री रामशरण महतले ४१ दातृ मुलुकलाई बुधबार र बिहीबार निमन्त्रणा पठाएका हुन्। ‘ती मुलुकका तर्फबाट कम्तीमा मन्त्रीस्तरको सहभागिता होस् भन्ने हाम्रो चाहना हो’, मरासिनीले भने।
उनले सम्मेलनका लागि परराष्ट्र, प्रधानमन्त्री कार्यालय र योजना आयोगको सहकार्यमा आवश्यक तयारी भइरहेको जानकारी दिए।

स्रोत : अन्नपुर्णपोस्ट

Related posts