ताजा खबर

यात्रु पुज्ने ग्रीष्म

२०७२ जेष्ठ २०,

सदरमुकामदेखि चार किलोमिटर उत्तर बिब्ल्याँटे बजारमा चिटिक्क एकतले काठे घरमा बस्ने ग्रीष्म सुब्बा, ४०, लाई सबैले राम्रै हैसियतवाला मान्छन् । पढाइगुनाइको कुरा निकाल्दा सुब्बा नधकाई  एक पन्जा र दुईवटा औँला ठड्याइदिन कन्जुस्याइँ गर्दैनन् । घरवरिपरि गाडी, विभिन्न संघसंस्थाको धपेडी र आफ्ना गाडीमा काम गर्नेहरूको गुनासा र माग सम्बोधन गर्नमा धेरै समय खर्चने उनी फुर्सदमा यात्रु भरेर को१ज ५९४ नम्बरको गाडीको स्टेरिङ घुमाउन थालिहाल्छन् ।

पछिल्लो समय उनको धपेडी बढाएको छ, गाडीले पनि । सरकारले पुराना गाडी हटाउने अभियान ल्याएपछि पर्यटनको पहिचानका रूपमा रहेका ल्यान्डरोभर गाडी हटाउन नहुने भन्दै उनी सदरमुकामदेखि राजधानीसम्म पुगेर चिच्याइरहेका छन् । यस्ता गाडीलाई सीमापारि दार्जीलिङमा जस्तै संरक्षण गर्नुपर्ने उनको भनाइ छ । भन्छन्, “मेरो संघर्ष नितान्त व्यवसायका लागि मात्र होइन ।”

उनको विगत र यात्रु ओसार्ने धन्दाको इतिहास पनि रोचक छ । जन्मेको चार वर्षमै गाडीसँग खेल्ने अवसर पाए । पेसाले शिक्षक बुबाले माईपोखरी केही तलको जस्विरे डाँडामा बसाइँ सरेपछि गाडी किनेका रहेछन् । गाडी मोह गतिलै गरी उनको बालमस्तिष्कमा गडेको थियो । नौ वर्षको हुँदा गाडी सिक्न र झुन्डिएर हुँइकिन थप अवसर मिल्यो । “१० वर्षको हुँदा वरपर सार्न सक्ने भइसकेको थिएँ,” उनी भन्छन्, “त्यो लगाव बुबालाई पटक्कै मन परेको थिएन ।”

जस्विरेको स्थानीय विद्यालयमा ५ कक्षामा पढ्दापढ्दै उनलाई धरानतिर लगियो । अंग्रेजी माध्यमको स्कुल भएकाले फेरि ३ कक्षादेखि पढ्नुपर्‍यो । ६ कक्षासम्मको अध्ययन सकेपछि उनी त्यहाँ अडिएनन् । गाउँ फर्किए । उनको गाडी कुदाउने मोह कस्तो भने १८ वर्ष पुगेपछि लाइसेन्स हात पारिहाले । ०५३ सालमा १९५४ मोडेलको ल्यान्डरोभर खरिद गरे ।

उतिबेला हरेक गाउँ सडक सञ्जालले जोड्ने माहोल थियो । त्यस बेला जिल्लाका अधिकांश सडकमा पहिलोपटक मोटर पुर्‍याउनेमा उनको नाम आउँछ । श्रमदान र थोरै रकममा खनिने सडक भएकाले अरू गाडी नपुग्दा ल्यान्डरोभर नै अब्बल थियो । अझै पनि जिल्लाका कतिपय स्थानमा यसको विकल्प छैन ।

पढाइलेखाइप्रति रुचि नभए पनि परिवार पाल्न धौधौ नहुने अवस्था सिर्जना हुनुको प्रमुख कारण उनी गाडीलाइनप्रतिको मोहलाई मान्छन् । त्यही क्रममा खरिद गरिएको गाडीलाई उनले सबै श्रेय दिएका छन् । विभिन्न सामाजिक संघसंस्थामा पनि उनी क्रियाशील छन् ।

आफ्नो पेसामा स्थापित भएपछि उनी त्यस क्षेत्रको यातायात क्षेत्रलाई व्यवस्थित गर्न हौसिए । यही उद्देश्य पूर्तिका लागि ०५७ सालमा पूर्वेली ट्याक्सी व्यवसायी संघ गठन भयो र संस्थाको नेतृत्व लिए । आत्मसम्मान पाउन यात्रुको इज्जत गरौँ भन्दै अनेकौँपटक संस्थामा आबद्ध चालक र कर्मचारीलाई उनले झकझकाउने गरेका छन् । भन्छन्, “चालक, मालिक, सहचालकलगायत यस क्षेत्रमा काम गर्ने सबैलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनु जरुरी छ । यात्रुको सेवा र इज्जत हाम्रो पहिलो प्राथमिकता हो ।”

जिल्लाको पर्यटन विकासमा पहिलो हिस्सेदार भएको भन्दै सरोकारवाला निकायको सहकार्यमा चालक र कर्मचारीलाई प्रशिक्षित गर्न उनको संस्था जुटेको छ । असहाय बालबालिकाको पठनपाठन, प्लास्टिकमुक्त अभियानलगायतमा पनि संस्था क्रियाशील छ ।

स्रोत : नेपाल

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *