सात सय २१ पुरातात्त्विक महत्त्वका संरचनामा क्षति, पुनर्निर्माणमा १५ अर्ब लाग्ने

काठमाडौं, २० जेठ

महाभूकम्पले पुरातात्त्विक महत्त्वका सात सय २१ संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । भूकम्पले सय वर्ष पुराना मठमन्दिर, सत्तल र दरबारमा क्षति पुर्‍याएको हो । पुरातत्त्व विभागका अनुसार एक सय ३३ संरचना पूर्ण रूपमा ध्वस्त भएका छन् । ९५ संरचना प्रयोग गर्न नमिल्ने गरी भत्किएका छन् । चार सय ९३ संरचनामा आंशिक क्षति पुगेको छ । ध्वस्त हुनेमा सबैभन्दा धेरै उपत्यकाका पुरातात्त्विक महत्त्वका संरचना रहेका छन् । उपत्यकाभित्र मात्रै दुई सय ४७ संरचना ध्वस्त भएका छन् । त्यसमध्ये काठमाडौंमा एक सय ३६, ललितपुरमा ८८ र भक्तपुरमा ४३ पुरातात्त्विक महत्त्वका भौतिक संरचना ध्वस्त भएका छन् । विभागका अनुसार पुरातात्त्विक महत्त्वका संरचना ध्वस्त हुने त्यसपछिको जिल्ला तनहुँ र धादिङ हुन् । दुवै जिल्लामा २९–२९ संरचना ध्वस्त भएका छन् । मुस्ताङ, गोरखा र दोलखामा पनि पुरातात्त्विक महत्त्वका भौतिक संरचना ध्वस्त भएका छन् । रिपोर्टअनुसार मुस्ताङमा २१, गोरखामा २२, दोलखामा २० भौतिक संरचना ध्वस्त भए । त्यस्तै, लम्जुङमा १८, सिन्धुपाल्चोकमा १३, नुवाकोटमा १३, रामेछापमा १०, रसुवामा ६, धनुषामा चार, बारामा दुई, कास्कीमा दुई, पर्सा र सिन्धुलीमा एक/एक पुरातात्त्विक महत्त्वका भौतिक संरचना ध्वस्त भएका छन् । विभागका अनुसार ध्वस्त हुने पुरातात्त्विक महत्त्वका संरचनाका तथ्यांक कतिपय स्थानबाट आउन अझै बाँकी छ । सबै स्थानबाट तथ्यांक संकलन भए नौ सयको हारहारीमा भौतिक संरचना ध्वस्त बनेका छन् । ध्वस्त भएको पुरातात्त्विक महत्त्वका संरचना पुनर्निर्माण गर्न १५ अर्ब रुपैयाँ लाग्ने पुरातत्त्व विभागको अनुमान छ । विभागका सिडिई (चिफ डिपार्टमेन्ट इन्जिनियर) सम्पद घिमिरेका अनुसार पुरातात्त्विक महत्त्वका ध्वस्त संरचनाको तथ्यांक संकलन अझै पूरा भइसकेको छैन । उनले सबै स्थानबाट तथ्यांक संकलन नभएकाले पनि कति मूल्यबराबरको भौतिक क्षति भएको आँकलन गर्न गाह्रो भएको बताए । घिमिरेले भने, ‘ठूलो संख्यामा भौतिक क्षति भएको छ । सबै स्थानबाट तथ्यांक अझै आइसकेको छैन । भूकम्पले क्षति गरेको मूल्य आँकलन गर्न नसकिएको पनि त्यही भएर हो ।’ ध्वस्त भएको भौतिक संरचना पुरानो शैलीमा नै निर्माण गरिए पनि भित्री संरचना बलियो बनाइने हुँदा खर्च पनि धेरै लाग्ने विभागको भनाइ छ । विभागका सिडिई घिमिरेले भने, ‘ध्वस्त भएका संरचना पूरै बनाउनुपर्नेछ । सबैको आवरण पुरानै शैलीको हुन्छ । तर, भित्री संरचना बलियो हुनुपर्छ । कम्तीमा १० रेक्टर स्केलको भूकम्प धान्न सक्ने खालको हुनुपर्छ । यसो भएर पनि खर्च धेरै लागेको हो ।’ घिमिरेका अनुसार संरचना पुनर्निर्माणका लागि विभागले अध्ययन समिति गठन गरिसकेको छ । समितिले तत्काल आर्किटेक्ट र सिभिल इन्जिनियर एक सयजना आवश्यक रहेको निष्कर्ष निकालेको छ । त्यसमध्ये ५२ आर्किटेक्ट र २० सिभिल इन्जिनियर, २० सिभिल सब इन्जिनियर र बाँकी सहयोगी आवश्यक रहेको निष्कर्ष समितिको छ । त्यसमध्ये ५० आर्किटेक्ट आर्किटेक्टहरूको संस्था सोतासँग माग गरेको छ । विभागका सिडिई घिमिरेले भने, ‘पुनर्संचनाका लागि विशेषज्ञ टोली आवश्यक छ । हामीकहाँ भएकाले मात्रै पुग्दैन । त्यसका लागि विभिन्न संस्थासँग माग गरेका छौँ । उनीहरूलै भत्किएका संरचनाको अध्ययन गर्नेछन् । नक्सा बनाउनेछन् । यसका लागि युनेस्कोसँग पनि सुझाब लिइनेछ । सबैबाट पास भएपछि निर्माणको काम हुनेछ ।’

स्रोत :नयाँ पत्रिका

Related posts