काठमााडौं, २० जेठ,
भूकम्पको क्षतिबाट बिमा कम्पनीलाई करिब ६ अर्ब रुपैयाँबराबरको दायित्व (भार) पर्ने देखिएको छ । अहिले बिमा कम्पनीमा परेको दाबी, त्यसको अनुमानित दायित्व र पुनर्बिमाबापतको रकमका आधारमा उक्त रकमबराबर भार पर्ने देखिएको हो । प्रारम्भिक तथ्यांकका आधारमा करिब २० अर्ब रुपैयाँसम्म दाबी पर्ने अनुमान गरिएको बिमा समितिका प्रवक्ता राजुरमण पौडेलले बताए । त्यसमध्ये करिब १४/१५ अर्ब रुपैयाँसम्म पुनर्बिमा कम्पनीले बेहोर्ने र बाँकी रकम मात्र बिमा कम्पनीको भागमा पर्ने देखिएको उनले अनुमान गरे । पौडेलका अनुसार त्यो रकम भुक्तानीका लागि बिमा कम्पनीहरू सक्षम रहेकाले कम्पनीहरूलाई पूर्वअनुमान गरिएजस्तो ठूलो आर्थिक भार पर्दैन । ‘अहिले बिमा कम्पनीमा पर्याप्त तरलता छ,’ उनले भने, ‘त्यसैले बिमा कम्पनीले दाबीबापतको रकम सजिलै भुक्तानी गर्न सक्छन् ।’ यस्तै, प्राय: सबै बिमा कम्पनीले सम्भावित जोखिम न्यूनीकरणका लागि पुनर्बिमा गरेका छन् । सोही कारण परेको दाबीबापतको सबै दायित्व कम्पनीले मात्रै बहन गर्नुपर्दैन । दाबीको केही अंश बिमा कम्पनीले पुनर्बिमा कम्पनीबाट पाउँछन् । अहिले पुनर्बिमा कम्पनीले अग्रिम भुक्तानी पनि दिन सुरु गरेका छन् । पछि हिसाब मिलान गर्ने गरी पुनर्बिमा कम्पनीले अग्रिम भुक्तानी सुरु गरेका हुन् । प्रक्रिया पूरा भएका दाबी भुक्तानीमा कम्पनीको आर्थिक व्ययभार कम पार्नका लागि अग्रिम भुक्तानी सुरु गरेका जनाइएको छ । पुनर्बिमा कम्पनीको उक्त व्यवहारले बिमा कम्पनीलाई आर्थिक भार कम पर्नुका साथै दाबी भुक्तानीमा पनि सजिलो भएको कम्पनीहरूले बताएका छन् । यस्तै, कम्पनीहरूलाई अनावश्यक खर्च नगरी आवश्यक तरलता कायम गर्न बिमा समितिले यही जेठ ६ गते नै निर्देशन दिइसकेको छ । दाबीको यकिन आँकलन भई भुक्तानीको टुंगो नलागेसम्म वार्षिक कार्यक्रम तथा नीतिमा परी स्वीकृत भएका बजेट पनि खर्च नगर्न समितिले निर्देशन दिएको हो । ‘अत्यावश्यकबाहेक कुनै पनि खर्च नगर्ने निर्देशन दिएका छौँ,’ पौडेलले भने । भूकम्पको क्षतिका कारण एकैपटक ठूलो रकम दायित्व पर्न सक्ने सम्भावनाका आधारमा उक्त निर्देशन दिएको हो । सोही निर्देशनका आधारमा अहिले बिमा कम्पनीले पनि अत्यावश्यकभन्दा अरू खर्च गरेका छैनन् । भूकम्पबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि बिमा कम्पनीलाई ठूलो आर्थिक भार पर्ने चर्चा चलिरहेको समयमा अपेक्षा गरिएअनुसारको भार नपर्ने तथ्य बाहिर आएको हो । अझै पनि स्वेच्छिक रूपमा बिमा गर्ने प्रचलन सुरु भएको छैन । सोही कारण पनि भूकम्पबाट क्षति भएका सबै सम्पत्ति तथा मानिसको बिमा दाबी हुन सक्दैन । यसले पनि नेपाली बिमा कम्पनीलाई त्यति ठूलो भार नपर्ने समितिले जनाएको छ । भूकम्पपछि गत मंगलबार निर्जीवन बिमा कम्पनीमा ९ अर्ब ७३ करोड ४८ लाख रुपैयाँबराबरको दाबी परेको छ । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीमा परेको १३ हजार ४८ वटा दाबीउपर उक्तबराबरको दायित्व परेको समितिले बताएको छ । तीमध्ये ३ सय ४१ वटा दाबीबापत ११ करोड १७ लाख दाबी भुक्तानी भइसकेको छ । यस्तै, जीवन बिमा कम्पनीमा २ सय ३० वटा दाबी परेका छन् । तीमध्ये मंगलबारसम्म १ सय २० वटा दाबी भुक्तनी भइसकेको छ । उक्त दाबीबाट बिमितले ३ करोड ५१ लाख रुपैयाँ प्राप्त गरेका छन् । सर्भेयर (मूल्यांकनकर्ता) ले मंगलबारसम्म ५ सय ३२ वटा प्रतिवेदन बिमा कम्पनीमा बुझाइसकेका छन् ।
स्रोत :नया पत्रिका