एजेन्सी नयाँदिल्ली, २० जेठ
भारती टेस्ट कप्तान विराट कोहलीले भारतीय टोलीले आगामी पाँच वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभुत्व जमाएको हेर्न चाहेको बताएका छन् । मंगलबार आफ्नो योजना प्रस्तुत गर्दै उनले भारतीय टोलीले कम्तीमा पनि पाँच वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभुत्व जमाएको हेर्न चाहेको बताएका हुन् । कोहली गत जनवरीयता भारतीय टेस्ट टोलीको कप्तानीको जिम्मेवारी सम्हाल्दै आएका छन् । अस्ट्ेरलियाविरुद्धको चार टेस्ट म्याच सिरिजमध्ये लगातार तेस्रो पराजयसँगै नियमित कप्तान महेन्द्र सिंह धोनीले पद त्यागेपछि कोहलीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । कोहलीले आफ्नो टोलीमा बलियो स्थायित्व स्थापित गर्नेसमेत बताए । ‘म भारतीय टोलीले कम्तीमा पनि पाँच वा ६ वर्ष प्रभुत्व जमाएको हेर्न चाहन्छु,’ कोहलीले भने । त्यसका लागि आफूहरूसँग क्षमता भएको पनि उनले दाबी गरे । ‘हामीसँग पक्कै पनि कौशल छ, क्षमता छ,’ उनले भने, ‘हामीले उनीहरूलाई व्यवस्थित र एकसाथ राख्न सक्नुपर्छ ।’ कोहलीले आफ्नो योजना सार्वजनिक गर्दै भने, ‘म उनीहरूसँग बलियो बन्धन बनाउन चाहन्छु, बलियो मित्रता कायम गर्न चाहन्छु ।’ भारतीय राष्ट्रिय टोलीबाट हालसम्म ३३ टेस्ट खेलेका कोहलीले ४६.३० को औसतमा २५४७ रन प्रहार गरेका छन् । कोहलीले भारतीय टोलीलाई आफूले एउटै युनिटका रूपमा अघि बढाउन चाहेको प्रतिक्रिया दिए । ‘हामी वर्षमा २५०–२८० दिन सँगै बिताउँछौँ, त्यसैले आगामी १० वर्षसम्म यो टोलीलाई युनाइटेड टोलीका रूपमा विकास गर्न चाहन्छु,’ उनले भने । उनले यो टोली अहिलेसम्मकै उत्कृष्ट भएको पनि बताए । ‘यो टोली अहिले पनि एक–अर्काका लागि खेल्न रुचाउँछ, उनीहरू आफ्ना लागि मात्र खेल्दैनन्, मेरो भिजन पनि त्यही हो,’ कोहलीले भने । उनले सहकर्मीलाई मैदानमा स्वतन्त्रतापूर्वक खेल्ने स्वतन्त्रता प्रदान गरिने पनि जनाए । ‘हामी अहिलेकै जस्तो स्वतन्त्र क्रिकेट खेल्न रुचाउँछौँ,’ उनले भने, ‘आगामी खेलमा पनि उनीहरूलाई आफ्नै शैलीमा स्वतन्त्र रूपमा खेल्न पाउने अधिकार हुनेछ ।’ उनीहरूलाई खेलको बखत कुनै पनि द्विविधाबाट मुक्त गरिने पनि उनले बताए । ‘टोलीमा मैले परिवर्तन ल्याउन चाहेको र खोजेको एउटै कुरा भनेको उनीहरूलाई कुनै पनि खेलमा कुनै पनि द्विविधाबाट मुक्त गर्नु हो, कुनै पनि असुरक्षाबाट मुक्त गराउनु हो,’ उनले भने, ‘मैदानमा सबैले स्वतन्त्र भएर खेल्नुपर्छ, आफ्नो टोलीमा त्यो परिवर्तन भएको हेर्न चाहन्छु ।’
स्रोत : नया पत्रिका