ताजा खबर

सात वर्षपछि इभानोभिक सेमिफाइनलमा

एजेन्सी पेरिस, २० जेठ

पूर्वच्याम्पियन अन्ना इभानोभिक मंगलबार फ्रेन्च ओपन टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । इभानोभिकले युक्रेनकी एलिना स्भिटोलिनालाई ६–३ र ६–२ को सीधा सेटमा हराउँदै अन्तिम चारको स्थान सुरक्षित गरेकी हुन् । सन् २००८ मा इभानोभिक फ्रेन्च ओपनको च्याम्पियन बनेकी थिइन् । २००९ देखि १४ सम्म इभानोभिकले फ्रेन्च ओपनमा गतिलो प्रदर्शन गर्न सकिनन् । यस सिजनमा उनी उत्कृष्ट फर्ममा छिन् । यसपटक इमानोभिकका ब्याकह्यान्ड र सर्भिस उत्कृष्ट छन् । फाइनल प्रवेशका लागि इभानोभिकले ग्राविने मुगाजाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । अर्को क्वार्टरफाइनलमा ग्राविनेले लुसिए साफारोभालाई ७–६ र ६–३ ले पराजित गरिन् । साफारोभाले चौथो चरणमा महिलातर्फकी साबिक विजेता मारिया सारापोभालाई स्तब्ध पारेकी थिइन् । सातौँ बरियताकी इभानोभिकले एलिनाविरुद्ध खेलमा फर्कन मौका नै दिइनन् । दोस्रो सेटको आठौँ गेममा तीन म्याच प्वाइन्ट रक्षा गरेकी इभानोभिकले फोरह्यान्ड प्रहार गर्दै अर्को चरणको स्थान पक्का पारिन् । यसैगरी, पूर्वविजेता तथा शीर्ष बरियताकी सेरेना विलियम्सले सोलाने स्टेफान्सलाई १–६, ७–५ र ६–३ को कठिन सेटमा हराउँदै अन्तिम आठको स्थान पक्का पारिन् । विलियम्स क्वार्टरफाइनलमा प्रवेश गर्दा निकै थाकेकी थिइन् । यसअघि सेरेनाले अघिल्लो चरणमा सहजै जित हात पारेकी थिइन् । सेमिफाइनल प्रवेशका लागि सेरेनाले १७औँ बरियताकी सारा इरानीसँग प्रतिस्पर्धा गर्नेछिन् । फ्रेन्च ओपनमा कुनै बरियता नपाएकी इरानीले पहिलो चरणमै अमेरिकन खेलाडी भेनस विलियम्सलाई स्तब्ध पारेकी थिइन् । इरानीविरुद्धको दोस्रो सेटमा सेरेना ४–५ ले पछाडि थिइन् । इरानीले लगातार गल्ती गर्दा सेरेना ५–५ को बराबरी अवस्थामा पुगिन् । त्यसपछिको दुई सर्भिस गेम जित्दै सेरेनाले दोस्रो सेट ७–५ ले हात पारिन् । दुई घन्टा लामो मिहिनेतपछि सेरेनाले इरानीलाई हराइन् । पुरुषतर्फ शीर्ष बरियताका नोभाक जोकोभिक र राफेल नाडालबीच क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने भएको छ । नाडाल दशौँ तथा जोकोभिक पहिलो फ्रेन्च ओपन उपाधि जित्ने अभियानमा छन् । दुईमध्ये एकको मात्र सपना पूरा हुनेछ । जोकोभिकले फ्रेन्च ओपन मात्र जित्न सकेका छैनन् । जोकोभिकले अन्तिम आठको स्थान पक्का गर्न फ्रेन्च खेलाडी रिचार्ड गास्वेटलाई ६–१, ६–२ र ६–३ ले पराजित गरे । साबिक विजेता नाडालले अमेरिकन खेलाडी ज्याक सोकमाथि ६–३, ६–१, ७–५ र ६–३ को जित निकाले । फ्रेन्च ओपनमा यो नाडालको ७०औँ जित संख्या हो । पछिल्लो एक दशकदेखि नाडालले फ्रेन्च ओपनमा आफ्नो दबदबा राखेका छन् । क्वार्टरफाइनलमा नाडालविरुद्ध प्रतिस्पर्धा सबैभन्दा कठिन भएको जोकोभिकले बताए । ‘अब म अहिलेसम्मकै कठिन खेल खेल्न गइरहेको छु, क्ले कोर्टमा नाडाललाई हराउन मुस्किल छ,’ जोकोभिकले भने, ‘यसपटक उनी फरक योजनामा छन् ।’ नाडालले पनि जोकोभिकविरुद्ध उत्कृष्ट प्रदर्शन हुने बताए । ‘सेमिफाइनल प्रवेशका लागि हुने प्रतिस्पधार्मा म उत्कृष्ट खेल खेल्नेछु,’ नाडालले भने, ‘जोकोभिक शीर्ष बरियताका खेलाडी हुन्, यस सिजनमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।’ सन् २०१२ को सत्रमा नाडालले जोकोभिकलाई हराउँदै आठौँपटक फ्रेन्च ओपन जितेका थिए । पुरुषतर्फ ब्रिटिस नम्बर एक खेलाडी एन्डी मुर्रेले अन्तिम आठको स्थान पक्का गरेका छन् । मुर्रेले चौथो चरणमा जेरेमी चार्डीलाई ६–४, ३–६, ६–३ र ६–२ ले हराए ।

स्रोत : नया पत्रिका

Related posts