ताजा खबर

भूकम्पले मानवलाई विचलित बनाउनुका साथै प्रेरणा दिएको छ

लमजुङ जिल्लाको पुस्तुन गाउँमा आजभन्दा ठीक साढे ९६ वर्षअघि विसं १९७६ असोज ७ गते जन्मनुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरे नेपाल र नेपाली साहित्यिक इतिहासका धरोहर हुनुहुन्छ । शान्त र शालीनसँगै राष्ट्र र राष्ट्रिय भावनाले युक्त उहाँका हरेक कृतिमा राष्ट्रियता झल्किन्छ । गौरी, मालती मंगले, हिमालपारि हिमालवारि, शकुन्तलालगायतका कृति प्रसिद्ध छन् । बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठका समकक्षी रहनुभएका घिमिरेले विसं १९९२ मा गोरखापत्रमा पहिलो कविता ज्ञानपुष्प छपाएर नेपाली साहित्यमा प्रवेश गर्नुभएको थियो । छन्दोबद्ध शैलीका कविता लेख्ने उहाँ सर्वाेत्कृष्ट कवि हुनुहुन्छ । समय सुहाउँदो कृति सिर्जनाका प्रखर सर्जक घिमिरेसँग उहाँकै निवास लाजिम्पाटमा गरिएको कुराकानीका केही अंश प्रस्तुत गरेको छु ।

० भूकम्प आएपछि तपाईंको दिनचर्या कसरी बितेको छ ?

– बढी आयु हुनु भनेको स्रष्टाको साहित्य सिर्जना गर्ने अवसर हो । जति नदी बग्छ त्यति नै लामो हुन्छ, जति बग्न मौका पाउँछ, त्यति नै जमिनलाई भिजाउन सकिन्छ । म अहिले साढे ९६ वर्षको छु । त्यसैले धेरै सिर्जना गर्न पाएको छु । साहित्य सिर्जना ‘मुड’मा भर पर्छ, मुड भएको बेला निरन्तर रुपमा बगिरन्छ,त्यो बेला सिर्जना हुन्छ, सधैं कविता लेख्ने मुड हुँदैन, विना ‘रुटिन’ अकस्मात् ममाथि मुडले छोप्छ । बिहान साढे छ बजे उठ्छु र राति साढे १० बजे सुत्छु । मलाई नेपाली सादा भोजन मन पर्छ । अहिले भुइँचालो आएदेखि मेरो जीवनचर्यामा पनि अर्काे भुइँचालो गएको छ । भुइँचालाको समाचार हेरेपछि र पढेपछि रिगाउँछ । आपतविपत् हेर्दा मन विचलित हुन्छ । शान्त भएर को बस्न सक्छ यो बेला ? म पनि सक्दिनँ । म कवि भएकाले संवेदनशील छु ।
० केके लेख्दै हुनुहुन्छ ?
– यो २०/२५ दिनमा चारवटा भूकम्पसम्बन्धी गीत लेखें । म बूढो मान्छे, एक्लै कतै जान्न सक्दिनँ । भूकम्पले मलाई पनि झस्कायो । यसले नेपालीको उन्नतिमा लाग्नका लागि प्रेरित गरेको छ । कम्पनहरूले सुतेका मान्छेलाई बिउँझाएको छ । मेरा गीतहरूमा पनि नयाँ निर्माण गर्दा भूकम्प प्रतिरोधी घर निर्माण गर्नुपर्छ भनेर सिर्जना गरेको छु । भूकम्पले मानव जातिलाई विचलित बनाउनुका साथै प्रेरणा पनि दिएको छ ।
० कसरी साहित्य सिर्जनामा लाग्नुभयो ?
– विसं १९९० को भूकम्प आएका बेला १३/१४ वर्षको थिएँ । मेरो गाउँमा मेरी जेठी आमा कराउन थाल्नुभयो, आँगनमा आएर चिच्याउनुभयो, छोराहरू खोइ भनेर चिच्चाउने र लड्ने गर्नुभयो । मलाई भुइँचालो भनेर केही पनि थाहा थिएन । म आश्चर्यमा परें । जेठी आमापट्टिका मेरो दाइलाई पल्लो घरमा बोलाउन जाँदा तल्लो बारीमा आँपका बोट कहिले नदेखेको पारामा जमिनमा छोला जस्तो र कहिले उठेको देखेपछि मात्र भूकम्प भनेको यस्तो हुन्छ भनेर अनुभव गरें । आँगनमा पुग्दा हजुरआमाले दुइटै आंैलाले भुइँमा थिचिरहनुभएको थियो । त्यो दृश्य अहिलेसम्म ताजै छ । मलाई कविता भनेको थाहा पनि थिएन । केही हरफ लेखें र गोबरले नेपाली कागजमा लेखेको उक्त कविता भित्तामा टाँसे । तीनवर्षपछि ‘नेपाल’ (काठमाडांै) आएँ । धरहरा पुनः निर्माण भइसकेको थियो । नयाँ सडक पनि । उद्धार समितिका अध्यक्ष ब्रह्म सम्शेरले इस्ट इन्डिया कम्पनीको सेना पठाउने प्रस्ताव नमानेर स्वतन्त्र देशको पहिचान दिनुभएको थियो । तर अहिले विदेशी हेलिकप्टर र हवाईजहाज आएर छिटोछरिटो रुपले दुर्गम स्थानमा सहायता दिएका छन् । तिनीहरूलाई धन्यवाद दिन चाहन्छु । विदेशमा शान्ति स्थापना गर्न नेपाली पनि गएकाले हाम्रो गुणले आएका हुन् ।
० केके पढ्दै हुनुहुन्छ ?
– भूकम्प आएदेखि कृति सिर्जनाको मुडमा रहें । चानचुने चिज पढ्ने उमेर पनि छैन । वेद र उपनिषद् पढ्छु । पूर्वीय दृष्टिकोण महŒवपूर्ण छ । अध्यात्मवाद र भौतिकवादप्रति प्रेरित गराउँछ । विद्यामा मात्र रम्ने मान्छे एकांकी हुन्छ । मात्र भौतिक र मात्र अध्यात्मवादमा भुल्ने मान्छ एकांकी हुन्छ त्यसैले हामीलाई दुवै चाहिन्छ ।
० साहित्यकारहरू कोको मनपर्छ ?
– कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र युगकवि सिद्धिचरण श्रेष्ठ मन पर्छ । वास्तविक गुरुको रुपमा कालिदास र रवीन्द्रनाथ टैगोर मान्छु । धेरै ठूलो चिजलाई पनि दुई पंक्तिमा लेख्ने सक्ने र रमाइलो पारामा प्रस्तुत गर्न सक्ने कालिदास हुनुहुन्थ्यो ।
० तपार्ईंलाई यो क्षेत्रमा आउन कोबाट प्रेरणा मिलेको थियो ?
– उपनिषद् र गीताका विभिन्न पंक्तिले गर्दा प्रेरणा मिलेको थियो । आफंै शत्रु आफंै मित्रु र आफंैले आफ्नो उद्धार गर्नुपर्छ भन्ने कवितांशको भावले म प्रेरित भएको हँु ।
० भूकम्पको पीडाको निकास कसरी निकाल्न सकिन्छ ?
– पीडा त आइपर्छ, सामना गनुपर्छ । उत्तरदायित्व वहन गर्ने विषयमा देश, राजनीतिक पार्टी, नेताहरूको परीक्षा यही बेला हुन्छ । दूर भविष्यलाई हेरेर सबै मिलेर समस्या समाधान गर्नुपर्छ । छोप्नका लागि जस्तापाता ठीक छ । तर घर नै बनाउनका लागि खराब जग होइन, राम्रो राख्नुपर्छ । आपत् भयो भनेर भाग्ने होइन । यो कुरा नवनिर्माण र नयाँ संविधानमा पनि लागू हुन्छ ।
० देशले सर्जकहरूलाई कसरी हेर्नुपर्छ ?
– नेपाल देश सानो छ तर पनि यहाँ स्रष्टाको उन्नतिका लागि कति धेरै प्रज्ञा प्रतिष्ठान छन् । कला साहित्य, संगीत आदिको विकासका लागि ती संस्थाले जिम्मा लिनुपर्छ, नीति नियम र योजना तर्जुमा गर्नुपर्छ । सरकारले पनि गठन गरेपछि औपचारिकतामा नरही बजेट उपलब्ध गर्नुपर्छ ।
० सर्जकहरूलाई देशले कसरी उद्धारकार्यमा मद्दत गर्नुपर्छ ?
– आफ्नो क्षमताले भ्याएसम्म गर्नुपर्छ । कवि, कलाकारहरूले आफ्नो क्षमतालाई प्रयोग गरेर उद्धारकार्यमा लाग्न सकिन्छ । त्यो भनेको पैसाको राहत बाँड्ने भनेको होइन, सकिन्छ भने दिए भो । तर कविता, गीतहरू मनले लेखेर पनि उद्धार गर्न सकिन्छ । राहत दिँदा नाम आउँछ भनेर दिने होइन, विशुद्ध सेवाभावले दिने हो ।
० तपाईंको हालैको भूकम्पसम्बन्धी कृति सुनाइदिनुहोस् न।
– भूकम्पपछि सिर्जना भएको भुइँचालो सम्बन्धि एउटा कृति सुनाउँछु ।
भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो
अनायासै देशै थाम्न– जुट्यो हातेमालो
कराउँदै रूखदेखि सारा पन्छी उडे
उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे
घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो
खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो
बहत्तरको भुइँचालो, धक्का कति सारो
मर्न पनि गारो भयो, बाँच्न पनि गारो
ज्युँदो जाति उठ्न थाल्यो लुकाई घाउ आलो
कहरबाट उद्धार गर्न– जुट्यो हातेमालो
एकाएक धर्ती काम्दा कसको आड लियौ
बगलमा जल्लाई पायौ त्यसको आड लियौ
एकताको सूत्र मिल्यो, फाट्यो थोत्रो जालो
आहतलाई राहत बाँड्न– जुट्यो हातेमालो
देश रिङ्दा त्यससँगै समय पो रिँग्यो
वारितिर कुर्दा कुर्दै पारि दृष्टि पुग्यो
दूरदर्शी संविधान लेख्ने जु¥यो पालो
अनि नवनिर्माणमा– जुट्यो हातेमालो

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *