विदेशबाट आएका औषधि अस्पतालमै थन्किए

२०७२ जेष्ठ १९ मंगलवार,
काठमाडौं : विकट ठाउँका भूकम्पपीडित घाइतेले सामान्य औषधोपचार नपाइरहेका बेला राजधानीका केही निजी अस्पतालले ‘व्यक्तिगत पहुँच’का भरमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट झिकाएका उपचारमा प्रयोग हुने महत्त्वपूर्ण सामग्री र औषधि अस्पतालमै डम्पिङ भएका छन्।
भूकम्पपीडित नेपालीका नाममा मानवीय सहयोगस्वरूप भन्सार छूट भई आएका औषधि, यन्त्र, उपकरण तथा सामग्रीहरू सम्बन्धित क्षेत्रमा नपठाउँदा उपयोगहीन भएका छन्।
 जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको बैठक कोठामा दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय संघसंस्थाले बिरामीका लागि पठाएका अत्यावश्यक सामग्री थन्क्याइएको छ।
बैठक कोठामा नअटाएपछि भारतले पठाइदिएको करिब ३० कार्टुन पानीका बोतल ‘कन्सल्टेन्सी’ कोठामा डम्पिङ गरिएको छ। ती पानीका बोतल कर्मचारीका टेबुलमा प्रशस्त देखिए पनि बिरामीका अगाडि मुस्किलले पुग्ने गरेका छन्।
यूएसए, साइन याक्चर कियर, एमएस, एमईडी एसएचएआरई, डाइरेक्ट रिलिफ फन्ड, यूएनडीपी, युनिसेफ, फ्रान्स, स्पेनलगायत देश र अन्तर्राष्ट्रिय संघसंस्थाले भूकम्प का घाइतेका लागि पठाएको ह्विलचियर, वैशाखी, औषधि, ब्ल्यांकेट, सिरानी, पन्जालगायत सामग्री डम्पिङ भएको छ।
अस्पतालमा धमाधम उपचार र राहतका सामग्रीको ओइरो लागिरहे पनि बिरामीले भने नपाएको गुनासो गरेका छन्। अस्पतालमा उपचार गराइरहेकी घाइते विमला नेपाली ह्विलचियर नपाएर छट्पटाइरहेकी थिइन्।
‘ह्विलचियर साङ्लोले बाँधेर राखिएको छ। ममीलाई शौचालय लग्न र हिँडडुल गराउन ह्विलचियर दिनुहोस् न भनेर माग्दा कसैले दिँदैन’, विमलाकी छोरी लक्ष्मीले सोमबार अस्पताल परिसरमा अन्नपूर्णसँग भनिन्, ‘खै, त्यो देखाउने मात्रै हो कि हामीलाई दिन ल्याएको वा अन्तै ल ग्न ल्याएको हो, थाहा छैन।’
अर्का कुरुवा दुर्गामान मास्केले अस्पतालमा ट्रकका ट्रक राहत सामग्री आए पनि आफूहरूलाई के आवश्यक छ भनेर कोही सोध्न नआएको गुनासो गरे।
अहिलेसम्म कुन संघसंस्थाले कति उपचार र राहतका सामग्री दिएका छन् भनेर अन्नपूर्णले विवरण माग्दा अस्पताल प्रमुख डा. सजु प्रधानले दिन मानेनन्।
पटकपटक अनुरोध गर्दा पनि उनले आफूले पत्रकारलाई त्यस्तो विवरण दिन आवश्यक नदेखेको बताए। उक्त अस्पतालले बिरामीको डिपोजिटबाहेक अन्य उपचारमा कतिपय बिरामीले खर्चेको रकम पनि फिर्ता गरेको छैन।
भूकम्पका कारण घर भत्किँदा घाइते भएकी बुहारीको उपचार गराइरहेकी भावना थापाले भनिन्, ‘सरकारले नि:शुल्क घोषणा गर्नुपहिले हामीले एक्सरे, ब्लड टेस्ट, औषधिलगायतमा खर्चेको सात हजार २४ रुपैयाँ अस्पतालले फिर्ता गरेको छैन। माग्न जाँदा डिपोजिटको मात्र फिर्ता हुन्छ, अरू हुन्न भन्नुहुन्छ डाक्टर।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले अन्तर्राष्ट्रिय संघसंस्थाले सहयोगका लागि दिएको सामग्री त्यसरी डम्पिङ गरेर राख्नु गलत भएको बताए। मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले भने, ‘हामीले पनि त्यस्तो सूचना पाएका छौं।
यस्तो बेला आफ्नै अस्पतालका लागि सामग्री आएको हो भने पनि धेरै भएमा अरूलाई बाँड्नुपर्छ, त्यसरी डम्पिङ गर्न मिल्दैन। हामी छानबिन गर्छौं।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मेडिकल उपकरण र औषधि जाँचपासका लागि खटिएका मन्त्रालयका सहसचिव राजीव काफ्ले पनि भन्सार छूट गरी उपचार र राहतका लागि लगिएका सामग्री तत्कालै बिरामीलाई वितरण गर्नुपर्ने बताउँछन्।
भन्सार कार्यालयको हेल्प डेस्कमा साइन फ्याक्चर कियर नामको संस्थाबाट उक्त अस्पतालले अर्थोपेडिक इम्लान्ट दुई सय ८० किलो, यूएसएबाट दुई हजार पाँच सय अर्थोपेडिक इम्लान्ट लिएको रेकर्ड छ।
यस्तै बाहिरबाट पठाइएका केही सर्जिकल सामग्री वार्न हर्डले भन्ने संस्थाले बुझेर उक्त अस्पताललाई दिएको छ। ‘हाम्रो रेकर्डमा भएको त्यति नै हो। हामी नभएका बेला पनि छुटेको हुनसक्छ, जुन हामीसँग छैन’, मन्त्रालयका कर्मचारी भवानी दाहालले भनिन्।
सहसचिव काफ्लेका अनुसार त्यो सामग्री लगेपछि कसलाई कति वितरण गरेको भन्नेबारे रिपोर्टसमेत उक्त अस्पतालले बुझाएको छैन।
‘अर्थोपेडिकमा मात्र काभ्रेको इस्पाइनल इन्जुरी, धुलिखेललगायत ठूला अस्पतालले पनि अत्यधिक वैदेशिक सहयोग लिइरहेका छन्’, उनले भने, ‘त्यसको कसरी उपयोग भएको छ, हामीले जाँच गर्न बाँकी छ।’
स्रोत : अन्नपुर्ण पोस्ट

Related posts