रौतहट, जेठ १९ गते
भूकम्पका कारण चर्किएको सदरमुकाम गौरस्थित कारागार भवनको मर्मत नहुँदा त्रसित बनेका त्यहाँका कैदी एक महिनादेखि राम्ररी सुत्न समेत पाएका छैनन् ।
वैशाख १२ र २९ गतेको भूकम्पबाट चर्र्र्किएको उक्त भवनको छत र भित्ता पटक÷पटकको पराकम्पनले भत्किने हो कि भन्ने त्रासले उनीहरूलाई राती निद्रा नलागेको हो ।
१९८५ सालमा निर्मित गौर कारागारको भवन यसै त जीर्ण अवस्थामा थियो भने भूकम्पले गर्दा झनै जीर्ण बनेको छ । कारागारको सुरक्षार्थ राखिएका प्रहरी एवम् कर्मचारी भवन समेत जीर्ण भएकाले सुरक्षाकर्मीहरू कारागार परिसरमा त्रिपाल टाँगेर सुरक्षा दिइरहेका छन् ।
९० जना कैदी राख्ने क्षमता रहेको उक्त कारागारमा हत्या, डाकाजनी, हातहतियार, चोरी, बलात्कार लगायत विभिन्न प्रकृतिका मुद्दामा सजाय पाएर जेल जीवन बिताउँदै आएका पाँच महिला सहित १३१ कैदी छन् ।
झण्डै ८७ बर्ष पुरानो कारागारमा एकातिर कारागारको क्षमताभन्दा बढी कैदी राखिएको छ भने अर्कोतिर चर्किएको भित्ता एवं छत कुन बेला भत्किने र किचिने हो भन्ने डरले राती राम्ररी निद्रा परेको छैन भन्छन् कैदीबन्दीहरू ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भवन ज्यादै नै पुरानो भएको र भूकम्पले क्षति पु¥याएका कारण कैदीबन्दी त्रासपूर्ण अवस्थामा रहेको स्वीकार्नुभयो ।
जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालयले समेत कारागार व्यवस्था विभागमा कारागारको अवस्थाबारे पत्राचार गरेको छ ।
जोखिम न्यूनीकरण गर्न नयाँ भवन नै निर्माण गर्नुपर्ने अवस्था भए पनि तत्काल मर्मतका लागि माथिबाट रकम आउने आश्वासन पाएको समेत प्रजिअ भुजेलले बताउनुभयो ।
उहाँका अनुसार स्थानीय सुरक्षा प्रशासनले पटक पटक कारागारको अनुगमन गरी त्यहाँको अवस्थाबारे कारागार व्यवस्था विभाग र गृह मन्त्रालयमा समेतमा जानकारी गराएको छ ।
स्रोत :गोर्खापत्र