ताजा खबर

वर्षाका कारण तेस्रो एकदिवसीय अनिर्णीत

एजेन्सी लाहोर, १९ जेठ

जिम्बावे र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल अनिर्णीत भएको छ । आइतबार लाहोरमा २९७ रनको लक्ष्य पछ्याइरहेको जिम्बावेले ९ ओभरमा विनाक्षति ६८ रन बनाउँदा ‘फ्लड लाइट’ बिग्रिएपछि खेल पूरा हुन पाएन । अन्तिम खेल अनिर्णीत भए पनि तीन एकदिवसीय सिरिज पाकिस्तानले यसअघि नै २–० ले आफ्नो पक्षमा पारिसकेको थियो । पहिलो र दोस्रो एकदिवसीयमा पनि पाकिस्तानले जित हात पारेको थियो । लाहोरस्थित गद्दाफी स्टेडियममा टस जिती पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । पाकिस्तानका लागि ओपनर मोहम्मद हाफिजले सर्वाधिक ८० रनको योगदान दिए । उनले ८० बल नै खेलेर ८ चौका तथा १ छक्का प्रहार गरे । त्यसबाहेक बबर अजमले ५४ रन तथा अर्का ओपनर तथा कप्तान अजहर अलीले ४५ रन जोडे । बबरले ४ चौका प्रहार गरे भने अजरले चार चौका तथा एक छक्का प्रहार गरेका थिए । अन्वार अली ३८ रनमा नटआउट रहँदा सर्फज अहमेदले २५ रन, असद सफिकले १६ रन तथा वाहब रियाजले रन जोडे । खराब प्रकाशका कारण खेल रोकिनुअघि जिम्बावेका लागि भने ओपनरद्वय चामु चिभाभा ३९ रन तथा भुसी सिबान्डा २८ रनमा नटआउट थिए । समान २७ बलको सामना गरेका चिभाभाले चार तथा सिबान्डाले ३ चौका प्रहार गरेका थिए । बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए भने क्रिस मोफूले २ विकेट लिए ।

स्रोत : अन्नपूर्णपोस्ट

Related posts