ताजा खबर

भारतीय पर्यटकलाई नेपाल बोलाउँदै पर्यटन व्यवसायी

दिननाथ बराल,

पोखरा, जेठ १९

भारतीय पर्यटकलाई पोखरा घुम्न आउनेगरि सघाउन यहाँका पर्यटन व्यवसायीले नेपालस्थित भारतीय दुतावास पदाधिकारीसँग आग्रह गरेका छन् । नेपालको पर्यटनको ठुलो हिस्सा भारतीय पर्यटकले ओगटेकोले त्यसमा सघाउन व्यवसायीको आग्रह थियो ।

पोखरा पर्यटन पूर्नजागरण समिति (पिटिआरसी) का पदाधिकारीले मंगलबार नेपालस्थित भारतीय दुतावासका कमर्सियल कन्सुलर आशिष सिन्हालाई भेटेर भारतीय पर्यटकलाई नेपाल आउने वातावरण बनाइदिन आग्रह गरेका थिए । भारतीय पर्यटकको सिजन भएपनि भूकम्पका कारण आउन डराएकोले आगमनमा सघाउन व्यवसायीको अनुरोध थियो ।

पिटिआरसीका सह संयोजक विश्वशंकर पालिखेका अनुसार सिन्हाले भारतीय पर्यटकलाई नेपाल भित्रयाउन सक्दो पहल गर्ने बचन दिएका छन् । ‘भारतीय दुतावासले नेपाल नआउनु भनेर ट्राभल एडभाईजरीमा उल्लेख गरेको छैन । सचेतना अपनाउनु मात्र भनेका हौ’ सिन्हाको भनाई उद्घृत गर्दै पालिखेले भने, ‘हामीले आउन नहुने भनेका छैनौ । भूकम्प आइरहेकोले सचेत मात्र गराएका हौ ।’

पोखराका पर्यटन व्यवसायीले भूकम्पपछि पर्यटक आगमन घटेको भन्दै प्रवद्र्धनात्मक र कुटनीतिक भेटघाट गरेकोमा दुतावास पदाधिकारीले खुसी व्यक्त गरेका थिए । ‘पर्यटन प्रर्वद्धनका लागि व्यसायीले सहि कार्यक्रम गरेका छन् । भारतीय सहरमा पुगेर प्रवद्र्धन गर्नु पनि जरुरी छ’ सिन्हाको भनाइ उद्घृत गर्दै पालिखेले भने ।

पिटिआरसी संचार संयोजक टिकाराम सापकोटाले विभिन्न भारतीय संचारमाध्यमलाई पनि नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्नका लागि दुतावासले भूमिका निभाउन आग्रह गरेको बताए । उनले भारतीय संचारकर्मीलाई पोखरा ल्याएर यहाँको सकारात्मक सन्देश प्रवाह गर्ने तयारी भएकोले त्यसमा सघाउन दुतावातसँग आग्रह गरेका थिए ।

‘यतिबेला संचारमाध्यमको भूमिका छ । पोखरामा भारतीय पर्यटक आगमन बढाउँन त्यहाँका संचारमाध्यमलाई पोखरा ल्याउने तयारी पनि छ’ उनले भने, ‘त्यसो भयो भने बल्ल पोखरामा भारतीय पर्यटक भित्रयाउन सकिन्छ ।’ गर्मि छल्न र मुक्तिनाथ दर्शन गर्नका लागि पोखरामा वर्षेनी हजारौ भारतीय पर्यटक आउँछन् । यतिबेला भारतीय पर्यटकको पोखरा आउने सिजन भएपनि भूकम्पबाट त्रसित भएर आउन डराएको व्यवसायीले बताए ।

टिममा सहभागि नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा गर्मी छल्ने ठाउँको रुपमा रहेपनि भूकम्पबाट तर्सिएर भारतबाट आउने तयारीमा रहेका पर्यटक उतै रोकिएको बताए । उनले पोखरा र आसपासका क्षेत्र सुरक्षित हुँदाहुँदै पनि संचारमाध्यमबाट फैलिएको गलत संदेशका कारण पर्यटक आउन डराएको बताए । भारतीयका अनुसार यतिबेला पोखरा र सिंगो नेपालबारे भारतमा नकारात्मक सन्देश प्रवाह भएको छ । त्यसैले पनि सकारात्मक सन्देश प्रवाह हुनेगरि प्रवद्र्धनात्मक कार्यक्रम गर्न जरुरी रहेको उनले बताए ।

पिटिआरसीको टिम विभिन्न दुतावास सहित प्रधानमन्त्री, विभिन्न मन्त्रालय, राष्ट्रबैंक लगायतका निकायका पदाधिकारीलाइ भेट्न राजधानी गएका थिए । टिममा पिटिआरसी संयोजक गणेशबहादुर भट्टराईको नेतृत्वमा सह संयोजक विश्व पालिखे, प्रवद्र्धनात्मक अभियानका संयोजक बासु त्रिपाठी, संचार संयोजक टिकाराम सापकोटा, पर्यटन परिषद अध्यक्ष सोम थापा, रेबान अध्यक्ष गोपिबहादुर भट्टराइ, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली र नाट्टा अध्यक्ष पोमनारायण श्रेष्ठ थिए । उनीहरु सबै मंगलबार पोखरा फर्केका छन् ।

Related posts