हेनेको सम्वाददाता |
२०७२ जेठ १८
“त्यो पारी डाँडामा घाम लाग्यो घमाइलो ….पिरतिको छाता ओडाउन” नेपाली सिने जगतमा अत्यन्तै चर्चित गीतले एकपल्ट सबैको नजर तानेको छ चलचित्र रेसम फिलिलिमा । दक्षिण कोरियाको राजधानी सोल स्थित जोगेसा बुद्द गुम्बाको हल खचाखच थियो मे ३१ तारिक ,आइतबार रेसम फिलिली हेर्ने दर्शकहरुले अनि आयोजकको रूपमा प्रबन्ध मिलाएको थियो ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले ।
कोरियामा नेपालीहरुको संख्या बढदोक्रम संगै सामाजिक संस्थाहरु स्थापनाको क्रम पनि बढेको छ। भर्खरै स्थापना भएको ओखलढुंगा सेवा समाज यतिबेला निकै सकृय भएर सामाजिक कार्यमा लागिपरेको छ ।कोरियाको थेगु सहरमा उक्त चलचित्र भब्य प्रदर्शन गरे पश्चात् सोलमा पनि दर्शकको अत्यन्तै मायाँ पाएको र रेसम फिलिलिको टिकट बिक्रिबाट उठेको रकम सामाजिक सेवामा प्रयोग हुने संस्थाका अध्यक्ष मानसिंह गुरुङले बताउनु भयो ।
प्राबिधिक कारणले गर्दा कार्यक्रम निर्धारित समय भन्दा केही ढिला भएपनि कार्यक्रममा अनावश्यक भाषण र आसन ग्रहणको लर्को दर्शकलाई बेहोर्न परेन । श्रम सहचारी अनिल गुरुङ ,एन सि सि अध्यक्ष लोचन राई, लगाएत अन्य सामाजिक संस्थाहरुका विशिष्ट पदाधिकारीहरु बाट दीप प्रज्वलन गर्दै राष्ट्रिय गीतको साथमा सबैको ध्यान पर्दामा पुग्यो ।
निर्देशक प्रणव जोसिले निर्देशन गरेको रेसम फिलिली माँया पिरती र हास्य प्रदान चलचित्र हो । बिनय श्रेष्ठ ,कामेश्वर चौरासिया मेनुका प्रधान, आशुतोष श्रेष्ठ लगाएतका कलाकार हरुको अभिनय हरेको उक्त चलचित्रमा बिनय श्रेष्ठनै स्वयमं निर्माता हुन भने कालीप्रसाद बास्कोटाको संगीत सुपर हिट बन्न पुगेको छ।
चलचित्रको मुख्य कथाबस्तु आम नेपाली हरुको बस्तबिक जीवनमा आधारित छ ।गरिबीको कारण बिदेशको चक्करमा दलाल बाट ठगिएपछि गाउँ छाडेर बिदेशमै छु भन्दै काठमाडौंमा बस्न बाध्य दुई युबाको जीवन संघर्ष अनि बिकृती हरुलाई निकै ब्याङगात्मक रूपमा प्रस्तुत गरिएको छ ।