काठमाडौं. जेष्ठ १८
एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार चीनको हुआन प्रस्थान गर्दै छ । ३ देखि ७ जुनसम्म चल्ने च्याम्पियनसिपको २१औँ संस्करणमा २ पुरुष र १ महिलासहित ३ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उदीयमान स्प्रिन्टर आशिष चौधरीले पुरुषको सय, दुई सय र चार सय मिटर दौड प्रतिस्पर्धा गर्नेछन् । लालबहादुर थापाले पुरुषको हाफ म्याराथनमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ज्याभ्लिन थ्रोमा सीमाकुमारी थारूले भाग लिनेछिन् । प्रशिक्षकमा छविलाल थापा रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले एक कार्यक्रमबीच आइतबार बिदाइ गरेका छन् । च्याम्पियनसिपका दौरान हुने एसियन कंग्रेसमा सहभागी हुन नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह शनिबारै हुआन गइसकेको संघका सचिव आरके विष्टले जनाएका छन् । अध्यक्ष शाहले नेपालमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न कंग्रेसमा प्रस्ताव राख्ने सचिव विष्टले जानकारी दिए ।
स्रोत : नया पत्रिका