आर्सनलको भव्य स्वागत

एजेन्सी लन्डन, १८ जेठ

१२औँपटक एफएकप जितेको आर्सनलका खेलाडीको आइतबार भव्य स्वागत भएको छ । शनिबार राति वेम्बली रंगशालामा आर्सनलले एस्टन भिल्लालाई ४–० ले हराउँदै उपाधि हात पारेको हो । वेम्बलीबाट आर्सनल अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरू उपाधिका साथ ओर्लंदा हजारौँ समर्थकले स्वागत गरेको बिबिसीले जनाएको छ । च्याम्पियन खेलाडीलाई ठूलो बसको प्रबन्ध मिलाइएको थियो । खेलाडीहरूले पालैपालो ट्रफी उचाल्दै समर्थकलाई देखाएका थिए । बसभित्र खेलाडीहरू जोसिएका थिए । केही खेलाडी जितको खुसीमा ह्विस्कीका साथ देखिए । एफएकप सर्वाधिक जित्ने आर्सनल पहिलो क्लब बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले ११ पटक उपाधि उचालेको थियो । टोटनहाम आठपटक एफएकप च्याम्पियन बनेको थियो । आर्सनललाई उपाधि दिलाउने क्रममा वालकट, एलेसिस सान्जेज, मार्टेसाकेर र ओलिभर गिरोउडले एक–एक गोल गरेका थिए । आर्सनलका आर्सेन वेंगर एफकपकै सफल प्रशिक्षक बने । आर्सनल १९औँपटक एफए कपको फाइनलमा पुग्दा उनले ६ पटक उपाधि दिलाए । गत वर्ष हल सिटीलाई आर्सनलले ३–२ ले हराउँदै ११औँ उपाधि जित्दै म्यानचेस्टरसँग बराबरी गरेको थियो । गत सिजनमा आर्सनल मध्यान्तरअघि २–० ले पछि थियो । आर्सनलले खेललाई उल्ट्याउँदै ३–२ ले बाजी मार्‍यो । विम्बली मैदानमा खेलको ४०औँ मिनेटमा वालकटले भली गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । त्यसपछि सान्नेजले आर्सनललाई २–० को अग्रता दिलाए ।

स्रोत :अन्नपुर्ण पोस्ट

Related posts