ताजा खबर

सेना र माओवादी सँगसँगै पुन :र्निर्माणमा

२०७२ जेष्ठ १८ सोमबार,

लमजुङ : दसवर्षे सशस्त्र युद्धमा राज्य पक्षको नेपाली सेना र विद्रोही तत्कालीन नेकपा माओवादी एकअर्कालाई शत्रु मान्थे। दुवै शक्ति एकअर्काको अस्थित्व मेटाउन भरमग्दुर प्रयासमा थिए।

विस्तृत शान्ति सम्झौताले यी दुई शक्तिको शत्रुता पूर्ण व्यवहार हटाएको थियो। त्यसमा वैशाख १२ को महाभूकम्प र त्यसयताका परकम्पनले भत्काएका संरचनाको पुनर्निर्माणमा विगतको शत्रुपूर्ण व्यवहारलाई अन्त्य गर्दै एकजुट भएर पुनर्निर्माणमा क्रियाशील भएका छन्।

पूर्वी लमजुङको इलमपोखरी-५ ताँजीका खुसीमान गुरुङका छोरा आशलाल गुरुङ द्वन्द्वकालामा मारिए। जिल्लाको उदीपुरमा एम्बुस विस्फोटपछि भएको दोहोरो भीडन्तमा तत्कालीन शाही नेपाली सेनाको गोली लागि उनको मृत्यु भएको थियो।

छोराको मृत्युपछि उनका बाबुआमा गाउँमा बस्दै आएका थिए। विनाशकारी भूकम्पले ती दम्पती बस्दै आएको घर भत्काइदिएपछि उनीहरूको मन विक्षिप्त बनेको थियो।

सेना र माओवादी दुवै मिलेर भत्किएको घर बनाइदिदाँ उनको पोलेको घाउमा मलम लगाएजस्तो अनुभूति भएको छ। हिजो काख र बास रित्याएर एकअर्काका शत्रु बनेकाहरू हातमा हात मिलाएर काम गर्लान् भन्‍ने उनले कल्पना नै गरेनन्।

तर उनकै भत्केको घर सेना र माओवादी सम्मिलित एक टोलीले बनाइदिँदै गर्दा उनी दंग परे। उनको घर बनाउन एमाओवादीको तर्फबाट सभासद् लालबहादुर गुरुङ र सेनाको एक टोली सम्मिलत थियो।

माओवादी र नेपाली सेनाको पुशपति प्रसाद गणको एक टोली पूर्वी लमजुङको विकट गाविस दूधपोखरी र इलमपोखरीमा घरटहरा पुनर्निर्माणमा एकसाथ जुटेका छन्।

टोलीले इलमपोखरी र दूधपोखरीमा भत्किएका व्यक्तिका घर र विद्यालयका अस्थायी टहरा निर्माणकार्यमा जुटिरहेका छन्। टोलीले इलमपोखरी-७ घरेढुंगाको बाघ भैरव निमावि, वडा नं ५ ताँजीको सानो काभ्रे मावि, दूधपोखरी घमारचोकको कल्लाबारी माविको अस्थायी टहरा निर्माण गरेको नेपाली सेनाले जानकारी दिएको छ।

‘विपत्तिमा पीडितलाई सघाउन पुनर्निर्माणको काम सुरु गर्‍यौं’, सभाषद् लालबहादुर गुरुङले भने, ‘यतिबेला यो, ऊ भन्दा पनि पीडितको दुखेको घाउमा मलम लगाउनुपर्छ। सबै मिलेर विपदको व्यवस्थापन गर्नुपर्छ।’ पीडितको सेवामा जुट्न पाएकोमा आफूलाई खुसी लागेको उनले बताए।

स्रोत: अन्नपुर्ण पोस्ट

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *