एजेन्सी जुरिच, १७ जेठ
सेप ब्लाटर पाँचौँपटक फिफा अध्यक्षमा निर्वाचित भएका छन् । स्विट्जरल्यान्डको जुरिचमा शुक्रबार भएको निर्वाचनमा ब्लाटर फिफाको पाँचौँ कार्यकालका लागि चुनिएका हुन् । एक मात्र प्रतिद्वन्द्वी जोर्डनका राजकुमार अली बिन अल हुसेनले दोस्रो चरणको निर्वाचनअघि आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ब्लाटरलाई विजयी घोषणा गरिएको हो । स्विस नागरिक ब्लाटर पहिलो चरणको भोटिङमै १४० मतको बहुमतनजिक पुगेका थिए । ब्लाटरले पहिलो चरणको भोटिङमा १३३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हुसेनले ७३ मत प्राप्त गरे । पहिलो चरणमा भारी मतले पछि परेका हुसेनले दोस्रो चरणको भोटिङअघि नै प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिएका थिए । उम्मेदवारी फिर्ता लिँदै हुसेनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिए । ‘मलाई भोट दिन जस–जसले साहस देखाउनुभयो, उहाँहरूलाई धन्यवाद,’ हुसेनले भने । ७९ वर्षीय ब्लाटरले आफ्नो जितको खुसियाली ४९ वर्षीया प्रेमिका लिन्डा बाराससँग मनाए । ब्लाटर १९९८ मा पहिलोपटक फिफा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता लगातार फिफाको सर्वाेच्च पदमा रहेका उनले पाँचौँ कार्यकालमा पनि भारी मतको जितसहित आफूलाई अन्तर्राष्ट्रिय फुटबलमा शक्तिशाली व्यक्तिका रूपमा स्थापित गराए । पाँचौँपटक फिफा अध्यक्षमा चुनिएपछि ब्लाटरले आफू सबैको अध्यक्ष बनेको बताए । ‘अब म सबैको अध्यक्ष बनेको छु,’ फिफा कंग्रेसमा आफ्नो विजयी भाषणमा उनले भने । उनले सबै मिलेर राम्रो काम गर्ने प्रतिबद्धतासमेत जनाए । ‘म तपाईंहरूलाई मन पराउँछु, म मेरो कामलाई मन पराउँछु,’ ब्लाटरले भने, ‘म पर्फेक्ट छैन, कोही पनि पर्फेक्ट हुँदैनन्, तर फिफामा हामी सबै मिलेर राम्रो काम गर्नेछौँ, त्यसमा म ढुक्क छु ।’ उनले फिफालाई नयाँ दिशा दिन आफू तयार रहेकोसमेत बताए । ‘अहिलेसम्मको सबै कुरामा मलाई जिम्मेवार बनाइएको छ,’ उनले भने, ‘यी सबै कुराको जिम्मेवारी लिन चाहन्छु, यसका साथै तपाईंहरूसँगै मिलेर फिफालाई लयमा फर्काउने जिम्मेवारी पनि लिन चाहन्छु ।’ उनले आफूलाई अर्काे चार वर्षका लागि पनि अध्यक्षका रूपमा स्वीकार गर्ने आफ्ना ‘भोटर’लाई धन्यवाद दिए । ‘तपाईंहरूले मलाई अर्काे चार वर्षका लागि चुन्नुभएको छ,’ उनले भने, ‘म यस अवधिमा फिफा नामको डुंगाको नाइके बन्नेछु, र यो डुंगालाई किनारामा ल्याएरै छाड्नेछु ।’ उनको यसपटकको विजय भने विवादको केन्द्रमा रह्यो । निर्वाचनको दुई दिनअघि मात्रै स्विट्जरल्यान्ड प्रहरी र अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई)ले सात प्रतिनिधिलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेपछि फिफा निर्वाचनमा यसको ठूलै चर्चा भयो । त्यसले अध्यक्ष ब्लाटरलाई विवादमा तान्यो । स्विट्जरल्यान्ड प्रहरी र एफबिआईले अन्य १४ जना पदाधिकारीलाई समेत भ्रष्टाचारको आरोप लगाएको छ । यस्तै युरोपेली फुटबल महासंघ (युइएफए)ले निर्वाचन तत्कालका लागि स्थगित गरी ब्लाटरलाई अध्यक्षबाट हट्न आग्रहसमेत गर्यो । यद्यपि, युरोपेली फुटबलको त्यो मागलाई समेत बेवास्ता गर्दै उनी अघि बढे । ब्लाटरसँगको असन्तुष्टिसँगै युरोपेली देशहरूले विश्वकपसहित फिफाका आगामी प्रतियोगिता बहिष्कार गर्नेसम्मका धम्की दिएका छन् । फिफा अध्यक्षमा फेरि ब्लाटर चुनिएलगत्तै बेलायती फुटबल संघ (एफए)का उपाध्यक्ष डेभिड गिलले फिफा कार्यकारी समितिमा बस्न अस्वीकार गरे । ब्लाटरले भने २०१८ र २०२२ को विश्वकप आयोजनाको जिम्मेवारी नदिएकाले अमेरिका र बेलायतले आफूविरुद्ध षडयन्त्र गरेको प्रतिक्रिया दिएका छन् । उनले ती सबै घटनाको आफूले सम्मान गर्ने पनि बताए । ‘फिफाको ४० वर्षे कार्यकालमा मैले शत्रुता र अपमानसँग जिउन सिकेको छु, हामी यसको पनि सामना गर्नेछौँ,’ ब्लाटरले भने । पूर्व एमेच्योर फुटबलर ब्लाटर १९७५ बाट फिफामा छिरेका थिए । उनी त्यसपछि १९८१ मा महासचिव चुनिए । त्यसपछि १९९८ ब्राजिलियन जोएओ हाभेलाङगेको २४ वर्षे कार्यकालको अन्त्य गर्दै ब्लाटरले विश्व फुटबललाई हाँक्न सुरु गरेका थिए । स्विट्जरल्यान्डको आइस हक्की संघको जनसम्पर्क अधिकृत तथा महासचिवका रूपमा समेत काम गरेका ब्लाटरलाई आफ्नो कार्यकालमा फिफालाई आर्थिक रूपमा निकै बलियो बनाएको जस दिने गरिएको छ । ब्लाटरले फुटबललाई विश्वव्यापी बनाउनु फिफामा आफ्नो कार्यकालको सफलता मानेका छन् । उनकै नेतृत्वमा पहिलोपटक एसिया (२००२ दक्षिण कोरिया र जापान) र अफ्रिका (२०१०)मा विश्वकप आयोजना भएका थिए ।
स्रोत:नया पत्रिका