संविधान विवाद र राष्ट्रिय सरकारबारे भोलि टुंगो लाग्ने

२०७२ जेष्ठ १७ आईतवार,

काठमाडौं : संविधान निर्माण र राष्ट्रिय सरकारको गठनका विषयमा मुख्य दलका शीर्ष नेताहरुबीच आइतबार बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटामार कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरुबीच संविधानका विवादित विषयलाई चाडो टुंगो लगाएर राष्ट्रिय सरकार बनाउने विषयमा सकारात्मक छलफल भएको छ। आन्तरिक छलफल र वार्ता गरेर चारै पक्षका शीर्ष नेताहरुको भोलि बिहान पुनः बैठक बसेर राज्य पुर्नसंरचनालगायतका संविधानका विवादित विषय र राष्ट्रिय सरकार गठनका बारेमा एउटा निश्कर्षमा पुग्ने समझदारी भएको छ।

छलफलमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायत तीनै दलका वरिष्ठ नेताहरुको सहभागिता थियो । नौबजेदेखि सुरु भएको बैठक साढे ११ बजे सकिएको छ।

बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष प्रचण्डले आइतबार बिहानको छलफल सकारात्मक रहेको र संविधानका विवाद टुंग्याएर नवनिर्माण तथा पुर्ननिर्माणका लागि छिटै सहमतिको बलियो सरकार बनाउने विषयमा दलहरु तयार देखिएको बताए । उनले भने, ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ । संविधानमा छिटै सहमति हुन्छ । भोलि नै बसेर हामी राज्यपुनरसंरचना तथा सरकार गठनका कुरा टुंगो लगाउँछौं।’

उनले संकटको यो घडीमा राष्ट्रिय एकता र सहमति आवश्यक रहेको बताउँदै भने, ‘त्यही आधारमा हामी अघि बढ्ने हो । अब मुलुकले निकास पाउनेमा म आशावादी छु।’

कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरु सहमतिको नजिक पुगेको बताउँदै भने, ‘पहिलो प्राथमिकता संविधान हो । त्यसपछि अरु कुरा आउँछन् । सबै कुरा अब सहमतिका आधारमा अघि बढ्छन् ।’

एमाले उपाध्यक्ष भीव रावल संविधानमा सहमति कायम गरेर सहमतिको सरकार बनाउन सबै सकारात्मक देखिएको बताए । उनले भने, ‘संविधानका विवाद र सरकार गठनका विषय भोलि नै टुंगो लाग्नसक्छ ।’

राष्ट्रिय सरकार गठन तथा संविधान निर्माणका विषयमा केही दिनदेखि दलहरुले छलफललाई तीव्र बनाएका छन् । कांग्रेसले प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा छिटो संविधान जारी गरेर सहमतिका आधारमा राष्ट्रिय सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। साउनसम्ममा प्रधानमन्त्रीले राजीनामा दिने संकेत दिइसकेको छ । तर एमाले र एमाओवादी भने जतिसक्दो छिटो नयाँ नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने गृहकार्यमा जुटेका छन् ।

स्रोत: अन्नपुर्ण पोस्ट

Related posts