२०७२ जेष्ठ १७ आईतवार,
पोखरा: साहसिक खेलका लागि प्रख्याती कमाएको पर्यटकीय नगरी पोखरामा अर्को शाहाशीक खेल ह्याङग्लाइडर संचालना आउने भएको छ । पोखरामा पहिलोपटक पुतली जहाजले चिनिने अल्ट्रालाइट भित्राएको एभिया क्लवले ह्याङग्लाइडर संचालनमा ल्याउने भएको हो ।
साहसिक खेलको भिडमा पर्यटकलाई फरक स्वाद चखाउने उद्देश्यले क्लवले नयाँ साहसिक खेल ह्याङग्लाइडर संचालनमा ल्याउने तयारी गरेको बताएको छ । ह्याङग्लाईडर अल्ट्रालाइटको जस्तै पखेटा भएको तर बिना इञ्जिनको ग्लाइडर हो ।
बिना इञ्जिनको ग्लाइडरमा चरा जस्तै पखेटामा रहेको पेटीमा बसेर सुतेर आकाशमा उड्न सकिने भएकोले यो खेल नेपालकै फरक साहसिक खेल भएको क्लवका म्यानेजर रिजन रिजालले बताए ।
आउदो सिजनलाई मध्येनजर गरि क्लबले सेप्टेम्वर मिहिनाबाट यो खेल सुरु गर्ने बताएको छ । यसका लागी क्लबले सफल रुपमा परिक्षण उडान गरिसकेको रिजालले बताए ।
पोखरावाट १६ किलोमिटर पर फेवातालको शिरान चापाकोट गाविसको बाम्दीमा क्लबले ६० रोपनी जग्गामा उडान र अवतरण गर्ने ब्यवस्था मिलाई सकेको म्यानेजर रिजालले बताए ।
यो साहसिक खेल अल्ट्रालाईटका सहयोगमा तीन देखि चार हजार फिटसम्म डोरीले तानेर उडाएर आकाशमा छोडेपछि आफै आकाशमा उड्ने र जमीनमा अवतरण गर्ने खेल हो ।
यस खेलमा प्याराग्लाइडिङ जस्तै एकल उडान र प्यासेन्जर सहित दुईजना उड्न सक्ने छन् । यस खेलका लागि दुईवटा ह्याङग्लाइडर र ग्लाईडर उडाउनका लागि एउटा अल्ट्रालाइट समेत गरि एक करोड बढीको लगानीमा खेल भित्राएको रिजालले बताए ।
नेपालमै पहिलो पटक भित्रीएको यो खेल अमेरिका र न्यूजिल्याण्डमा मात्र हुने गरेको रिजालले बताए । यो खेलका लागि अल्ट्रालाइटको पनि प्रयो्ग हुने र पोखरा बजारबाट केही टाढा भएकोले केही महंगो हुने भएपनि सबैले चढ्न सक्ने गरि मुल्य निधारण गर्ने योजनामा क्लब रहेको रिजालले बताए ।
उडानका प्याकेज लामो र छोटो गरि दुई प्रकारको हुने उनले बताए । नेपालमै पहिलोपटक अल्ट्रालाइट भित्रयाएको एभिया क्लवमा ६ वटा प्याराग्लाइडर, तीन प्यारामोटर र ६ अल्ट्रालाइट संचालनमा छन् ।
यसको साथै दुई ह्याङग्लाइडर छिटै नै संचालनको तयारीमा रहेको छ । क्लबमा पाइलट सहित ५५ जनाले रोजगारी पाएको पनि रिजालले बताए ।
स्रोत: अन्नपुर्ण पोस्ट