बुटवल, जेष्ठ १७ –
राजधानी बाहिरकै चर्चित १८ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता सोमबारदेखि बुटवलमा सुरु हँुदै छ। रूपन्देही फुलबल संघको आयोजनामा बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरमा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताका लागि सबै तयारी सकिएको आयोजकले जनाएको छ। उद्घाटन खेलमा रूपन्देही ११ र पोखरामा सञ्चालित लिगमा सहभागी भ्याली स्पोर्ट्स क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिमले सशक्त रूपमा मैदानमा उत्रिने बताएका छन्।
टिम व्यवस्थापनका मामिलामा भने भ्याली स्पोटर््सको तुलनामा रूपन्देही ११ अगाडि छ। यसबाट राष्ट्रिय खेलाडी तथा मनाङ मस्र्याङ्दीमा राम्रो प्रस्तुति गरेका खेलाडी शिव श्रेष्ठ, दीपक राई, सुजल श्रेष्ठ, विक्रम लिम्बूलाई आफ्नो टिमबाट मैदानमा उतार्दै छ।
जसमा विमल घर्तीमगर, दिलीप क्षेत्री, कालु थापामगर लगायतका व्यक्तिगत रूपमा बलियो खेल प्रदर्शन गर्ने खेलाडीसमेत छन्। छोटो समय भए पनि मनाङ–मस्र्याङ्दी र रूपन्देही ११ का खेलाडीबीच सामञ्जस्यता मिलाइएकाले खेलमा प्रतिस्पर्धामा सहज हुने प्रशिक्षक प्रकाश मल्लले बताए। उद्घाटन खेलमात्रै नभएर गोल्डकप उचाल्ने योजनासहित तयारी भएको उनले बताए।
उसो त, पोखराको भ्याली स्पोर्ट्स क्लबबाट पनि विशाल राई ‘बी’ लगायतका राष्ट्रिय खेलाडी मैदानमा उत्रँदै छन्। उनीहरूको टक्करलाई रूपन्देही ११ ले सामना गर्नुपर्छ। यसो हुँदाहुँदै पनि ४२ डिग्री सेल्सियसको गर्मीमा जुधेर मैदानमा उत्रने अभ्यास गरेका रूपन्देही ११ सँग भ्याली स्पोर्ट्सले प्रतिस्पर्धा गर्न समस्या हुन सक्ने विश्लेषकहरू बताउँछन्। दर्शकबाट पाउने हुटिङ र परिचित खेलमैदानले पनि रूपन्देही ११ लाई सहयोग गर्नेछ।
प्रतियोगितामा रूपन्देही ११, भ्याली स्पोर्ट्स क्लब पोखरा, दार्जिलिङ ११, सशस्त्र प्रहरी बलको एपीएफ, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, धरान फुटबल क्लब र झापा ११ सहभागी छन्।
प्रतियोगितामा विजेता टिमले ३ लाख ७५ हजारसहित गोल्डकप प्राप्त गर्नेछ। उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक टिमले ७० हजार र ५ विधाका खेलाडीलाई जनही १५/१५ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ।
स्रोत:कान्तिपुर