कर्थली (सिन्धुपाल्चोक), जेष्ठ १७ –
सबैका लागि अस्थायी घर। गाउँमा पक्की विद्यालय। त्यसको परिसरमा बालबालिका खेल्ने पार्क। गरिब–जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति कोष। महाभूकम्पमा निधन भएकाका परिवारलाई आर्थिक सहयोग।
अरूतिर चामल बाँडिन्छ, सकिन्छ। पाल दिइन्छ, च्यातिन्छ। कर्थली–७, खहरे गाउँले भने दाताबाट सबैथोक पाएको छ।
देशमा ठूलो भूकम्प गएपछि हङकङका पत्रकार निर्मल श्रेष्ठ र व्यवसायी सुरज गुरुङले चिनजानमा सम्पर्क गरे। कुनै गाउँलाई विशेष सहयोग पुर्याउने उद्देश्य राखेपछि हङकङ, चीन र मकाउका नेपाली शुभचिन्तकले साथ दिए। करिब ४५ लाख रुपैयाँ लिएर उनीहरू काठमाडौं उडे।
‘महाभूकम्पबाट सबैभन्दा पीडित भएकाले सिन्धुपाल्चोक छान्यौं,’ राहत टोलीका संयोजक कान्तिपुरका हङकङ संवाददाता निर्मलले भने, ‘अति विपन्न र बिजोक स्थितिको दलित समुदाय भएकाले कर्थली गयौं।’ उनीहरूले १० दिन गाउँमा बसेर ४० परिवारका लागि अस्थायी घर र शौचालयहरू बनाइदिए। स्कुलमा करिब ६ लाख रुपैयाँ खर्चेर बालबालिका खेल्ने उद्यान बनाए।
भुइँचालोले ध्वस्त बनाएको ईश्वरीमाला प्राथमिक विद्यालयमा शनिबार आयोजित भव्य कार्यक्रममा उक्त विद्यालय भवन पक्की बनाउन, भौतिक सामग्री किन्नसमेत २१ लाख ५ हजार रुपैयाँको चेक अध्यक्ष अजय तामाङ र प्रधानाध्यापक कृष्णराज शर्मालाई हस्तान्तरण गरे। छात्रवृत्ति कोष बनाउन ३ लाख रुपैयाँ प्रदान गरे। साथै, उक्त गाउँमा महाभूकम्पबाट निधन भएका तीनजनाका परिवारलाई ५० हजार रुपैयाँका दरले राहत सहयोग गरे।
महाभूकम्पले सबै सम्पत्ति सिध्याएपछि खिउर विकलाई १२ जनाको परिवार पाल्न हम्मे परिरहेको थियो। ‘छाप्रो हाल्ने जमिन पनि थिएन,’ उनले भने, ‘गरिबलाई माया गर्ने मान्छे हुँदारहेछन्। टाउको लुकाउने घर पायौं। अब हुरी चल्दा रातभर पाल समातेर बस्नु पर्दैन। त्यसमाथि स्कुलसमेत बन्ने भो।’
निर्मल–सुरज दलित बस्तीमा पक्की घरहरू बनाउन अन्य सहयोगी हातहरू खोजिरहेका छन्। ‘अब यस गाउँसँग भावनात्मक सम्बन्ध जोडिएको छ,’ सुरजले भने, ‘भविष्यमा पक्की घर बनाउन सहयोग जुटाउने छौं।’
पर्दा सकेको गर्ने गाउँलेले नै हो। कतिको घर बनाउने ठाउँसमेत पुरिएपछि अस्थायी घरका लागि स्थानीय बमबहादुर तामाङलगायतले निजी जमिन विकल्प नभएसम्मका लागि नि:शुल्क दिएका छन्। ‘भत्केको दलित बस्ती जस्तापाताको टहराले भरिएको छ,’ बमबहादुरले भने, ‘यस्तो अवस्थामा जग्गा दिएर सानो सहयोग गर्न पाएकामा खुसी लागेको छ।’
हस्तान्तरण कार्यक्रममा वल्लो–पल्लो गाउँबाट सयौं सर्वसाधारण उत्सुकतापूर्वक जुटेका थिए। त्यसमा निर्मल–सुरजको थप राहत थियो भूकम्पपीडितलाई मनोपरामर्श। त्यसका लागि राजधानीबाट ख्यातिप्राप्त कलाकार, मनोपरामर्शदाता, चिकित्सक आदिको टोली लगिएको थियो। ‘हामीले अघि बढ्ने बाटो पायौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले कार्यक्रम सक्दै भने, ‘यसरी गावैं बनाइदिने दाता अरू ठाउँले पाएका छैनन्।’
स्रोत: कान्तिपुर