काठमाडौँ, जेठ १६ गते । भूकम्पले क्षति पु¥याएका संरचनाको नेपाल ललितकलाकर्मीले तस्बिरमा उतारेका छन् ।
‘लौ अब सुरु गरौँ’ भन्ने मूल नाराका साथ नेपाल ललितकलाकर्मीको हातेमालो अभियानले आज यहाँ वैशाख १२ गते भूकम्पको गएको समयको चित्रण गरी सो अभियान सञ्चालन गरेको हो ।
भूकम्पले देशलाई विपद् परे पनि आशाको दियो निभेको छैन भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रमको आयोजना गरेको नेपाल ललितकलाकर्मीको हातेमालो अभियानका मुख्य संयोजक शान्तकुमार राईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको आयआर्जन भनेको कलासंस्कृति भएकाले सबै मिलेर यसको नवनिर्माणमा लाग्नु आवश्यक छ ।”
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति शारदा चित्रकारले भूकम्पअघि र भूकम्पपछिको अवस्था र अब नयाँ निर्माण कसरी गर्ने भन्ने कुरालाई तस्बिरमार्फत उतारेको जानकारी दिनुभयो ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी हस्तकला विभागीय प्रमुख एवम् प्राज्ञ सुष्मा राजभण्डारीले पुरानो धरोहरलाई मनमा स्मरण गरेर नयाँ धरोहरको निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा वसन्तपुर सम्पदा संरक्षण समिति र २५ वडाका युवा क्लबले नेपालका वरिष्ठ कलाकारलाई सम्मान गरेको छ ।
समितिले कलाकार शान्तकुमार राई, कृष्ण मानन्धर, हेम पौडेल, नरेन्द्रबहादुर श्रेष्ठ, नरेश सैँजु, वंशी श्रेष्ठ, रमेश खनाल, शङ्करराज सिंह सुवाल, डा ध्रुवेशचन्द्र रेग्मी, सुष्माराज भण्डारी, सुरेन्द्र प्रधान, रमेश श्रेष्ठलगायतलाई नेपालको झन्डा ओढाएर सम्मान गरेको छ । रासस