ताजा खबर

बालबालिकालाई के पढाउने?

२०७२ जेष्ठ १५,
भूकम्पका कारण बालबालिकाको पढाइ खल्बलिएको छ। नयाँ शैक्षिक सत्र सुरु भएलगत्तै पढाइ टुटेपछि आफ्ना छोराछोरीको शैक्षिक भविष्य के होला? अभिभावकहरू अन्यौलमा छन्। यतिबेला शैक्षिक क्यालेन्डर नै अस्तव्यस्त छ। कति विद्यालय ध्वस्त छन्। नियमित पढाइमा फर्कन बालबालिकाले अझै केही समय कुर्नुपर्नेछ।

भूकम्प प्रभावित क्षेत्रका बालबालिकाहरू पालमुनि रात काटिरहेका छन्। भूकम्पले उनीहरूको बालसुलभ मनमा अज्ञात भय उत्पन्न गरेको छ। यस्तो त्रसित मानसिकताका बीच पठनपाठनको कुरा गर्नुको कुनै औचित्य छैन। बरु कसरी डर, त्रास हटाएर उनीहरूलाई मानसिक आघातबाट मुक्त गर्ने? अहिले अभिभावकको भूमिका यसैमा केन्द्रित हुनुपर्छ।

यस्तो अवस्थामा बालबालिकालाई पढाउने कुरा महत्त्वपूर्ण नभएको शिक्षाविद् विष्णु कार्की बताउँछन्। ‘दुई वा तीन महिना पढाइ ढिला हँुदैमा केही बिगँ्रदैन,’ कार्की भन्छन्– ‘बरु यस अवधिमा उनीहरूको त्रस्त मनस्थिति परिवर्तन गर्नुपर्छ।’ अभिभावकहरू डराउन वा निराधार हल्लाको भरमा हतोत्साही हुन नहुने उनको सुझाव छ।

आफ्ना आसपासका पालमुनि बसिरहेका केही अभिभावक छोराछोरीकै सामुन्ने भूकम्पका नकारात्मक कुरा गरिरहेको कार्कीले सुनाए। उनको प्रश्न छ– ‘अभिभावक नै आतंकित भए बालबालिकाको अबोध मन कसरी सम्हालिन्छ?’

भूकम्पजस्तो महाविपत्तिबाट प्रभावित मानिसहरू ‘एबनर्मल’ हुनुलाई सामान्य नै मान्नुपर्ने उनको बुझाइ छ। यसले सबैमा मानसिक समस्या निम्त्याउँछ, भलै त्यसको प्रभाव मान्छेपिच्छे फरक हुन सक्छ। खासगरी कमजोर मानसिकता भएका, रोगी, बालबालिका, वृद्धवृद्धाहरू बढी त्रसित् र हतोत्साही हुन सक्छन्।

विश्वकै सन्दर्भमा कुरा गर्दा यस्ता ठूला भूकम्पले बालबालिकालाई शारीरिक र मानसिक रूपमा निकै असर पुर्‍याएको विभिन्न अध्ययनले देखाएको छ। यस्तो परिस्थितिमा उनीहरू अस्वस्थ हुनुका साथै बढी डराउँछन्, चिन्तित एवं तनावग्रस्त हुन्छन्। बालबालिकामा देखिने यी लक्षणहरू पछि क्रमश: हराउँदै जाने बताइन्छ। यस किसिमको समस्या आउनुअघि नै अभिभावकले बलबालिकालाई फरक किसिमको वातावरण तय गरिदिनुपर्छ, जसले उनीहरूलाई भूकम्पको त्रासबाट मुक्त राख्छ। यसका निम्ति भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई ठाउँ–ठाउँमा भेला गरेर मनोवैज्ञानिक परामर्श दिने, उत्प्रेरणा जगाउने किसिमको गतिविधि सञ्चालन गर्नुपर्ने नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठ बताउँछन्।

यस्तो बेला विध्वंस, मृत्यु, दुर्घटना आदिको कहालीलाग्दो चर्चा बढी हुन्छ। यसले बालबालिकालाई थप आतंकित तुल्याउँछ। त्यसैले यस्ता त्रसित वातावरणबाट अलग गर्न उनीहरूलाई मनोरञ्जनात्मक कार्यमा लगाउनुपर्ने श्रेष्ठको सुझाव छ। ‘यस्तो बेला बालबालिकालाई रमाइलो वातावरणमा मिसाउनुपर्छ,’ श्रेष्ठ भन्छन्– ‘यसले भूकम्पको भय हटाउन मद्दत गर्छ।’ घरको टेलिभिजनमा विध्वंसको समाचार हेर्नुभन्दा प्रेरणादायी चलचित्र, कार्टुन हेराउनु उपयुक्त हुने उनको बुझाइ छ। ‘कति अभिभावकहरू टेलिभिजनमा भूकम्पले पारेको असरको डरलाग्दा दृश्यहरू हेरेर बसिरहेका हुन्छन्,’ श्रेष्ठ भन्छन्– ‘यो ठीक तरिका होइन।’

विज्ञहरू भन्छन्– ‘अहिलेको अवस्थामा बालबालिकासँग बढीभन्दा बढी समय बिताउनुहोस् र उनीहरूलाई भयमुक्त तुल्याउनुहोस्।’ बालबालिका कसरी खुसी हुन्छन्, के गर्दा रमाउँछन्? अभिभावकले त्यही अनुसारको माहौल बनाउनुपर्छ। जस्तो बालबालिका बीच इन्डोर तथा आउटडोर खेल खेलाउने, चित्र वनाउन लगाउने, कथा सुनाउने आदि। त्यस्तै, मनमा लागेका कुरालाई खुलस्त भन्न दिनुपर्छ। भूकम्पकै सम्बन्धमा रहेका भ्रम, द्विविधा हटाइदिनुपर्छ। उनीहरूलाई सामान्य दिनचर्यामा फर्काउन प्रयास गर्नुपर्छ।

बालबालिकाहरू मानसिक रूपमा पूर्ण तयार नभएसम्म पठन–पाठन गराउनुको कुनै अर्थ नहुने साउथ वेस्टर्न स्टेट इन्टरनेसनल कलेजका भाइस प्रिन्सिपल हरिसिंह केसी बताउँछन्। ‘यस्तो बेला पढाएको कुरा ग्रहण गर्न सक्ने अवस्था हुदैन’ केसी भन्छन्– ‘किनभने भूकम्पले उनीहरूको ध्यान भंग गरेको छ।’ त्यसैले हरेक बालबालिकालाई सामान्य दिनचर्यामा फर्काउनका निम्ति शिक्षक, स्वयंसेवकहरू खटाउनुपर्ने उनी बताउँछन्। ‘सबै शिक्षक फुर्सदमा छन्,’ केसी भन्छन्–‘उनीहरूलाई परिचालन गरेर हरेक क्याम्पमा बालमैत्री कार्यक्रम सञ्चालन गरिनुपर्छ।’

बालबालिकालाई व्यवहारिक रूपमै शिक्षा प्रदान गर्ने उपयुक्त अवसर पनि हो भन्छन्, शिक्षाविद् विष्णु कार्की। भूकम्पकै सन्दर्भलाई जोडेर बालबालिकालाई भूकम्प के हो, कसरी आउँछ, किन आउँछ भन्ने कुराको वैज्ञानिक ढंगले ज्ञान दिनुपर्छ। साथै, भूकम्प आयो भने के गर्ने, कसरी जोगिने, त्यसका पूर्वतयारी कसरी गर्ने जस्ता कुरा पनि सिकाउनुपर्ने कार्की बताउँछन्।

यही मौकामा अलि ठूला बालबालिकालाई सामाजिक उत्तरदायित्वको पाठ पनि सिकाउन सकिने बताउँदै कार्की भन्छन्– ‘अलि सजिलो र सुरक्षित क्षेत्रमा लगेर राहत संकलन एवं वितरण गर्न लगाउन सकिन्छ।’ यसले उनीहरूमा सहयोगी भावनाको समेत विकास हुने उनको ठम्याइ छ।
स्रोत:साप्ताहिक

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *