२०७२ जेष्ठ १५
एसएलसी परीक्षा दिएर बसेका धेरै विद्यार्थीमा दुविधा थियो, समयमा नतिजा प्रकाशित होला वा नहोला। भूकम्पका कारण उत्तर पुस्तिका हराएको हल्लाले यस्तो द्विविधा उत्पन्न गरेको थियो। कतिपय जिल्लाका उत्तरपुस्तिका हराएको र उनीहरूले पुन: परीक्षा दिनुपर्ने हल्लासँगै विद्यार्थीहरू फेरी परीक्षाको तयारीमा जुटेका खबरहरू पनि आए। यद्यपि यी हल्लाहरूमा कुनै सत्यता नरहेको परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ। परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे भन्छन्– ‘निर्धारित समयमै नतिजा प्रकाशन हुनेछ।’ यतिबेला देशभरका ५ लाख ७४ हजार ६ सय ८५ जना विद्यार्थी एसएलसी परीक्षाको नतिजाको पर्खाइमा छन्।
‘उत्तर पुस्तिका हराएको, पुन: परीक्षा सञ्चालन हुने र नतिजा स्थगित हुने भन्ने खालको हल्लामा विश्वास नगर्नुहोला,’ साप्ताहिकसँगको कुराकानीमा परीक्षा नियन्त्रक द्वारेले भने– ‘त्यसमा कुनै सत्यता छैन।’ एसएलसी परीक्षाको नतिजा निर्धारित समयमै हुने उनको दाबी छ। ‘परीक्षा सञ्चालन भएको तीन महिनाभित्र नतिजा प्रकाशित गर्ने चलन छ,’ परीक्षा नियन्त्रक द्वारेले भने– ‘त्यो समयसीमा भन्दा धेरै टाढा जाँदैन।’ एसएलसी परीक्षा गत चैत ५ देखि १२ गतेसम्म सञ्चालन भएको थियो।
द्वारेका अनुसार आउँदो असार महिनाको दोस्रो सातासम्म एसएलसीको नतिजा प्रकाशन हुनेछ। गएको वर्ष जेठ ३० गते नतिजा प्रकाशन भएको थियो। भूकम्पले परीक्षा नियन्त्रण कार्यालयको भवनमा केही क्षति पुर्याएका कारण प्राविधिक काम केही प्रभावित भएकाले नतिजा प्रकाशनमा केही ढिला हुने भएको हो।
दशभर सञ्चालन गरिएको एसएलसीको उत्तरपुस्तिका विभिन्न जिल्लाका ६४ वटा परीक्षण केन्द्रमा परीक्षण भैरहेको थियो। त्यसमध्ये ४३ वटा केन्द्रका उत्तरपुस्तिका परीक्षण भएर केन्द्र (परीक्षा नियन्त्रण कार्यलय) मा आइसकेको छ। भूकम्पले सबैभन्दा बढी प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, रामेछाप, दोलखाको समेत उत्तरपुस्तिका परीक्षण भएर केन्द्रमा आइसकेकाले नतिजा प्रकाशनमा कुनै कठिनाइ नभएको द्वारेले बताए। ‘भूकम्पले जहाँ बढी प्रभावित पारेको छ, त्यस क्षेत्रका उत्तरपुस्तिका लगभग यहाँ आइसकेको छ,’ द्वारेले भने– ‘हराएको वा पुरिएको भन्ने हल्ला निराधार हो।’ सिन्धुपाल्चोकलगायत बाँकी जिल्लाबाट भने उत्तरपुस्तिका आउने क्रम जारी छ।
जिल्लाको परीक्षण केन्द्रबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाहरू परीक्षा नियन्त्रण कार्यालयमा दर्ता गरिन्छ। द्वारेको भाषामा ‘अब केही गोप्य काम हुन बाँकी छ।’
गत वर्ष कार्यालयले जेठ ३० गते परीक्षाफल प्रकाशन गरेकाले यस वर्ष यही जेठ २५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने योजना रहे पनि भूकम्पका कारण परीक्षाफल प्रकाशन असारमै पुग्ने कार्यालयले जनाएको छ।
स्रोत:साप्ताहिक