पोखरा, जेष्ठ ७,
नयाँदिल्ली/ चीन, मंगोलिया, दक्षिण कोरियालगायतका देशको भ्रमण सकेर फर्किएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना बढेको छ । विपक्षी दल, सामाजिक सञ्जालका प्रयोगकर्ता तथा चिनियाँ मिडिया मोदीको आलोचनाको अग्रपंक्तिमा देखिएका छन् ।
दक्षिण कोरियामा आप्रवासी भारतीयलाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘पहिले मानिसहरू भारतीय भएकामा लज्जित थिए, तर अब आफ्नो देशको प्रतिनिधित्व गर्दा गर्व महसुस हुन्छ । अघिल्लो वर्ष विदेशमा रहेका भारतीयले सरकार बदल्ने चाहना व्यक्त गरेका थिए ।’ उनको यही अभिव्यक्तिलाई भारतीय सामाजिक प्रयोगकर्ताले आलोचनाको विषय बनाएका छन् । मंगलबार बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मोदीविरुद्ध सामाजिक सञ्जालमा हजारौँ पोस्ट लेखिएका छन् । उनको विरोधमा मोदीले भारतको अपमान गरे भन्ने लेखिएको छ । ट्विटरबाट सुरु भएको उनको विरोधलाई भारतका क्षेत्रीय दलहरू आम आदमी पार्टी, राष्ट्रिय जनता दल, जनता दल युनाइटेड, तृणमूल कंग्रेसलगायतले समर्थन गरेका छन् । क्षेत्रीय दलका नेता मोदीले आफ्नो अभिव्यक्तिको माफी माग्नुपर्ने बताएका छन् । उता, चिनियाँ अखबारले पनि मोदीको आलोचना सुरु गरेका छन् । आफ्नो चीन भ्रमण सफल भएको मोदी सरकारले बताएको छ । तर, मोदीको कूटनीतिमाथि चिनियाँ अखबारले प्रश्न उठाएका छन् । चिनियाँ पत्रिका बेइजिङ न्युजले मंगलबार मोदीको चीन यात्रा सफल भए पनि यात्राले मोदी–सी जिनपिङ सम्बन्ध मात्र राम्रो बनाएको, दुई देशलाई कुनै भलो नगरेको सम्पादकीयमा लेखेको छ । त्यस्तै, ग्लोबल टाइम्सले पनि मोदीले विनाकोसिस जापान, चीन, रुसजस्ता ठूला देशसँग सम्बन्ध बनाउन खोजेको र यसले भारतलाई सहयोग गरे पनि चीनलाई कुनै फाइदा नहुने सम्पादकीय लेखेको छ । सम्पादकीयमा मोदी भ्रमणको आलोचना गर्दै चिनियाँ सरकारलाई मोदी कूटनीतिलाई सन्देहका साथ हेर्न अनुरोध गरिएको छ । चिनियाँ अखबारले मोदी घरेलु मुद्दामा सफल देखिन विदेश यात्रालाई जोड दिइरहेको पनि टिप्पणी गरिएको छ । उता, भारतीय विपक्षी कंग्रेसले पनि मोदीको आलोचना बढाएको छ । कंग्रेस उपाध्यक्ष राहुलले नरेन्द्र मोदी सरकारले ‘प्रतिशोधको राजनीति’ गरिरहेको आरोप लगाएका छन् । उनले मोदी सरकारलाई १० मा शून्य अंक दिएका छन् । आफ्नो संसदीय क्षेत्र अमेठी पुगेका राहुलले मेगा फुड पार्कलाई रोकेर मोदी सरकारले गलत गरेको दाबी गरेका छन् । त्यसलाई फिर्ता ल्याउने उनले वाचा पनि गरेका छन् । ‘किसान र मजदुरको समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन, सरकार मोदीको विदेश यात्रामा नै केन्द्रित छ,’ राहुलले भने, ‘यस्तो सरकारलाई १० मा म शून्य नम्बर दिन्छु ।’ राहुलले मोदी सरकारले किसान र गरिब जनतालाई थप समस्यामा पारेको पनि बताएका छन् ।
स्रोत:पोखरापत्र